राजविराज, २६ फागुन । सप्तरीको बोदेबरसाईन नगरपालिका–१ कविलासावाट अपहरणमा परेका एक कपडा व्यापारी भारतीय प्रहरीको सहयोगमा अपहरण मुक्त भएका छन् ।
शनिवार राति करिब ८ बजे पसल बन्द गरेर घर जाने क्रममा ३२ वर्षीय मोहम्मद जियाउल हकलाई अज्ञात हतियारधारी समुहले अपहरण गरेको थियो । स८प ७४७० नम्वरको मोटरसाईकल चढि घर गईरहेको अवस्थामा हतियार बोकेका नकावधारी समूहले रञ्जितपुर स्थित पम्प नहरको पुलवाट आफुहरुलाई अपहरण गरेको हकले बताए ।
सिमा पार गर्ने क्रममा भारतीय प्रहरीले मोटरसाइकल रोकेपछि अपहरणकारी भागेको हकको भनाई छ । कुटपीटका कारण घाईते भएका हकलाई उपचारका लागि राती नै राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले घट्नाको विषयमा पुष्टि गर्दै थप अनुसन्धान भईरहेको डिएसपी भावेश रिमालले जानकारी दिएका छन् ।