• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

जनकपुरधाममा १६औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलन शुरु

प्रदेशमा मैथिलीको समुचित स्थान आवश्यकः प्रदेश प्रमुख कायस्थ
जनकपुरधाममा १६औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलन शुरु

श्यामसुन्दर यादव । जनकपुर, ७ पुस । प्रदेश नम्वर २ का प्रमुख रत्नेश्वरलाल कायस्थले मिथिला संस्कृति र मैथिली भाषाको आफ्नै प्राचीन एवम् गरिमामय इतिहास रहेको भन्दै प्रदेशमा समुचित स्थान पाउनुपर्नेमा जोड दिएका छन् ।
धनुषाको जनकपुरधाममा शनिवारदेखि शुरु भएको दुई दिवसीय १६औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको समुद्घाटन गर्दै उनले यस्तो कुरा बताएका हुन् । देशकै ठूलो तथा प्रदेशको प्रमुख भाषाको रुपमा रहेको भन्दै उनले मैथिली सहितका मातृभाषाहरुको समुचित स्थान सुनिश्चित हुनुपर्नेमा जोड दिए ।
भाषा वैज्ञानिक डा. रामअवतार यादवले विश्वमा मैथिली भाषा ४०औं स्थानमा रहेको भन्दै यो भाषाको प्रयोग दिनानुदिन बढ्दैगईरहेको भन्दै यो भाषाको अझ संरक्षण सम्वद्र्धन हुनुपर्नेमा जोड दिए । नेपालको दोस्रो ठूलो तथा प्रदेश २ को पहिलो भाषा मैथिलीलाई राजकाजको भाषाको अपनाउनुपर्ने तथा भोजपुरीलाई एसोसिएट भाषाको रुपमा स्वीकार गर्नुपर्ने उनले बताए ।
आयोजक समितिका संयोजक लेखक एवम् साहित्यकार रामभरोस कापडिको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलनका महासचिव डा. बैजनाथ चौधरी बैजु, लेखक एवम् पत्रकार राजेश्वर नेपाली, मैथिली साहित्य परिषद् राजविराजका अध्यक्ष प्रा. अशोक कुमार झा, भोजपुरी साहित्यकार गोपाल अश्क, लेखिका करुणा झा, मैथिली अभियानी प्रविणनारायण चौधरी, जनकपुर उपमहानगरपालिकाका पूर्व मेयर बजरंग प्रसाद साह लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । सोही अवसरमा मिथिलारत्नको उपाधीबाट मैथिली अभियानी स्व. योगेन्द्र साह नेपालीलाई मरणोपरान्त सम्मान प्रदान गरिएको छ । यसैगरी गरी मिथिलारत्न सम्मानबाट वरिष्ठ गायक रामा मण्डल, लेखक एवम् संस्कृतिविद् जयनारायण यादवलाई प्रमुख अतिथि प्रदेश नम्वर २ का प्रमुख रत्नेश्वरलाल कायस्थले सम्मान गरेका छन् ।
मैथिली अभियानी एवम् पत्रकार श्यामसुन्दर शशीद्वारा सञ्चालित सम्मेलनको उद्घाटन समारोहमा चर्चित गायिका रश्मी रानी, तनुजा चौरसिया लगायतलाई मिथिलाश्री सम्मान प्रदान गरिएको छ । यस्तै मुम्बईका पत्रकार एवम् मैथिली अभियानी दिपक कुमार झालाई अन्तर्राष्ट्रिय सद्भाव सम्मानबाट सम्मानित गरिएको छ ।
सम्मेलनमा नेपाल तथा भारतका भाषाविद्, मैथिली अभियानी, लेखक, पत्रकार, साहित्यकार, कलाकार समेतको सहभागिता रहेको छ । सम्मेलनमा विभिन्न विद्वानहरुद्वारा कार्यपत्र प्रस्तुति, टिप्पणी समिक्षा गर्नुका साथै समापनमा जनकपुर घोषणापत्र समेत जारी गरिने सम्मेलन आयोजक समितिले जनाएको छ ।