राजविराज, १८ मंसिर । सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर–२ स्थित नौवापारका एक पीडित परिवारलाई मङ्गलवार हेल्प मधेशी साउदी अरब परिवारले आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
केही दिन अघि क्यान्सर रोगबाट पीडित भई मृत्यु भएका ४५ वर्षिय धर्मदेव ठाकुर हजामकी पत्नी गीता देवी ठाकुरलाई नगद २६ हजार रुपैयाँ उपलब्ध गराईएको हो । हेल्प मधेशी नेपालका अध्यक्ष रामउद्गार यादवले उक्त रकम पीडित परिवारको घरमै पुगेर उपलब्ध गराएका छन् ।
उक्त अवसरमा हेल्प मधेशी साउदी अरबका अध्यक्ष कमलदेव साह, समाजवादी लोकतान्त्रिक ट्रेड युनियनका केन्द्रिय कोषाध्यक्ष शोभा मण्डल, कतार च्याप्टरका सल्लाहकार शिवकुमार मण्डल, हेल्प मधेशीका सदस्य सञ्जय कुमार यादव, वडा अध्यक्ष दानालाल साह, पत्रकार कृष्णदेव यादवलगायतको उपस्थिति थियो । पीडितको अवस्था हेरी आफुहरुले आगामी दिनमा समेत सहयोग गर्न प्रतिवद्ध रहेको हेल्प मधेशी नेपालका अध्यक्ष राम उद्गार यादवले बताए ।