राजविराज, १३ असार । बाढीले वर्षेनी नेपाली भु–भाग डुवानमा पर्ने गरेको गुनासो बढेपछि नेपाल तथा भारतका उच्चस्तरीय संयुक्त टोलीले स्थलगत अध्ययन थालेका छन् ।
भारतले दशगज्जा क्षेत्रमा नदीहरुको वहाव थुनिने गरी बाँध निर्माण गर्ने गरेका कारण नेपाली भूभाग डुबानमा पर्दैआएको छ । बाढीले डुबानमा पर्ने पूर्वी तराईका नदीहरुको स्थायी निकासका लागि नेपाल–भारतको उच्चस्तरीय संयुक्त टोलीले बुधवारदेखि सप्तरीको खाँडो नदी तथा दशगजा क्षेत्रबाट अध्ययन थालेका छन् । पूर्वी तराईमा बाढीको वेला दशगज्जा क्षेत्रमा देखिने गरेको समस्या स्थायी रुपमा समाधान गर्नका लागि स्थलगत अध्ययन थालिएको जल उत्पन्न प्रकोप नियन्त्रण विभाग नेपाल उप–महानिर्देशक प्रदिप थापाले जानकारी दिएका छन् । बाढीका कारण पूर्वी नेपालमा हुने गरेको जनधनको क्षतिलाई न्यून गर्न अध्ययनले सहयोग हुने दावी समेत गरे ।
भारत सरकार पनि बाढीले नेपाली तथा भारतीय भु–भागमा हुने गरेको समस्या समाधानका लागि तत्पर रेहेकोले आफुहरु अध्ययन पश्चात रिर्पोट तयार गरेर दुवै देशका सरकारलाई वुझाउने भारत सरकारको केन्द्रिय जलसंशाधन विभागका निर्देशक अजयकुमारले बताए ।
गत वर्ष नदीको निकास दिने विषयमा भारतीय पक्षसँग सप्तरीको तिलाठी स्थित दशगज्जा क्षेत्रमा झडप भएको स्थान तथा खाँडो नदीको पुरानो बहाव तथा हालको वहाव र पानीको निकासको सम्भावनाबारे अध्ययन–अवलोकन गरिएको छ । उच्चस्तरीय संयुक्त टोलीले पूर्वी तराईको बारा, बाग्मती, लालबकैंयासहितका स्थानहरुमा रहेको नदीको निकासका विषयमा स्थलगत अध्ययन गर्ने जनाएको छ ।