राजविराज, ६ फागुन । बाढीवाट घरवार विहिन भएका सप्तरीको तिरहुत गाउँपालिकाका १८ बाढी पीडित असहाय परिवारलाई आइतवार नयाँ घर हस्तान्तरण गरिएको छ ।
सर्वोदय नेपाल नामक संस्थाको पहलमा धर्म शान्ति नेपाल तथा एसियन कन्फ्रेन्स अफ रिलिजन फर पिसले नयाँ घर निर्माण हस्तान्तरण गरेको हो । गत साउनमा आएको बाढीबाट गाउँपालिका वडा नं. १, २ र ५ का १८ परिवारको पुर्ण रुपमा उठिवास भएको छ । सहयोगी संस्थाका प्रमुख मासामिचि कामियाँ, दिपिका सिंह, लोकमान्य गोल्छा, दिपिका सिंहले नयाँ घरको साँचो हस्तान्तरण गरेका छन् ।
तिरहुत गाउँपालिकाका डम्वर राम, ईन्द्रदेव पण्डित, इन्द्रावती पण्डित, जिवछ मलाह, सरस्वतीदेवी राम लगायत १८ परिवारको गत साउन अन्तिम साताको वाढिवाट उठिवास भएको थियो । स्थानीय सर्वोदय नेपाल नामक संस्थाको पहलमा धर्म शान्ति नेपाल (आरएफपी) तथा एसियन कन्फ्रेन्स अफ रिलिजन फर पिस (एसआरपी)ले एक महिनाको समय लगाएर नयाँ घर बनाएर नयाँ घरले आफुहरुमाथि ठूलो उपकार गरेको भन्दै पीडितहरुले खुशी व्यक्त गरेका छन् ।
संस्थाका अध्यक्ष काशीनाथ जोशीले प्रति घर निर्माणमा १ लाख ८६ हजार खर्च भएको जानकारी दिएका छन् । सिमेण्ट प्लास्टर भएको वराण्डा, काठ वाँस र टिनको छानावाट निर्माण गरिएको घर २० फिट लम्वाई र १८ फिट चौडाई रहेको छ ।
बाढी पीडितहरुलाई घर वनाउन सहयोग गरेकोमा गाउँपालिकाको तर्फवाट अध्यक्ष मनोज वहरखेरले सहयोगी संस्थाका पदाधिकारीहरुलाई धन्यवाद दिएका छन् ।