• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
शुभकामना विजयाको

वि.सं. २०७४ को विजयादशमी सुरु भइसकेको छ । शरद ऋतुको उन्मादी वातावरणका बीच दशैंको सरगर्मी चारैतिर छाएको छ । असत्यमाथि सत्यको विजय तथा सबै प्रकारका अहंकारको अन्त्यका द्योतकका रुपमा रहेको वडा दशैं जति उल्लासको सम्बाहक छ उत्तिकै सन्देशमूलक पनि । मीठो खाने, राम्रो लाउने, बाहिर रहने गरकोहरु मध्येका अधिकांश पनि घर फर्कने भएका कारण दशैं भेटघाट र मिलनको अवसर पनि हो । यो अवसरलाई क्षमता भएकाहरुले त तडक भडकका साथ आत्मसात गर्लान्, तर आर्थिक क्षमता कमजोर भएकाहरुकालागि त यस्तो तडक भडक पक्कै पनि बोझ बन्ने निश्चित छ ।

दशैंमा क्षमताले भ्याएन भने ऋणै काटेर भएपनि खर्च गर्नेतिर लाग्नु पर्ने आवश्यकता होइन । ‘घाँटी हेरी हाड निल्नु’ भन्ने उक्तिलाई व्यवहारमा लागु गरिएन भने गरीब, विपन्नकालागि दशैं दशा पनि बन्न सक्दछ । त्यसैले अरुको अन्धानुकरण होइन आफ्नो गच्छेमा आधारित भए । दशैं मनाउनु बुद्धिमानी हो । नेपालीहरुको महान पर्व दशैंमा पनि यसपालि भूकम्प र बाढीपीडितहरुको घर आँगनमा रौनक देखिएको छैन । चर्केकै घरमा बसेर भूकम्पपीडित दशैं मनाउँदै छन् भने बाढीपीडित जनतालाई अझै त्रिपालले छाडिसकेको छैन । यसै बेला प्रदेश नम्बर २ ले जननिर्वाचित प्रतिनिधि स्थानीय तहमा पाएको छ । आशा गरौं जनपीडा प्रति नयाँ जनप्रतिनिधि तथा सरकारको ध्यान पुग्ने छ । अर्को दशैंमा उनीहरुको घर आँगनमा समेत उल्लासमय वातावरण आउनेछ । सबैप्रकारका आडम्बर र अहंकारबाट मुक्त भई आपसी सौहद्रित, भाइचाराको व्यवहार तथा निर्मल र पवित्र मन लिएर मनाइने दशैंको आफ्नै महत्व हुन्छ । पूर्वीय आध्यात्म दर्शनका अनुयायीहरुकालागि दशैंको आध्यात्मिक महत्व बढी छ, जसलाई व्यवहारमा उतार्न सके मानव मनमा विकृति र कलुषित भावना धोइपखाली गर्नमा समेत मद्दत पुग्नेछ । ‘म खाउँ मै लाउँ सुखसयल वा मोज म गरुँ, म हाँसुँ मै नाचुँ अरु सब गरुन् दुर्वलहरु’ भन्ने कविशिरोमणी लेखनाथ पौड्यालको दुई टुक कविताको स्मरण गर्ने हो भने यस प्रकारको धारणा राख्नु हुन्न ।

दशैं सबैकालागि सहज अनि सरल बनोस्, गरिब दुखियाको घर आँगनमा पनि आनन्द खुशियालीको सञ्चार हुन सकोस्, दशैंको महत्ता यही गुट रहस्यमाथि आधारित छ । आफ्ना अग्रजप्रतिको सम्मान र आशिर्वाद ग्रहण अनि अनुजप्रतिको प्रेमभाव प्रदर्शन दशैंको अनुपम परम्परा हो । यसलाई जीवन्त तुल्याई राख्नु हामी सबैको जिम्मेवारी हो । त्यसो हुन सक्दा मात्र दशैंको यो सन्देशमूलक र सद्व्यवहारको कोसेली हामीले भावी पुस्तामा हस्तान्तरण गर्न सक्दछौं । मुलुक धेरै लामो समयदेखि राजनीतिक उल्झनमा अलमलिएका कारण विकासको गति पनि अबरुद्ध हुन पुग्यो । विकास र शान्तिका निमित्त राजनीतिक स्थायीत्व आवश्यक भएपनि राजनीतिक दलहरुले एकापसमा सहमति तथा सहकार्यको मिलनबिन्दू पहिल्याउन नसक्दा देश लामो समय सम्म संक्रमण कालमा रहनु पर्यो, जसको प्रत्यक्ष प्रभाव विकास र शान्तिमाथि नै पर्न गएको कुराप्रति सबै नेपाली जन विज्ञ नै छन् । राजनीतिक अन्यौललाई चिर्दै अघि बढ्न, शान्ति समुन्नति अनि सुव्यवस्था कायम गर्न राजनीतिक शक्तिलाई माता दुर्गा भवानीले सत्प्रेरणा प्रदान गरुन् । देशले उन्नतिको मार्गमा काँचुली फेर्न सकोस् । सबै नेपालीका बीच सद्भाव अझै प्रगाढ बन्नुका साथै सबैका घर मनमस्तिष्कमा आनन्दको सञ्चार होस् । विजयादशमीको यस पावन अवसरमा सबैमा मङ्गलमय शुभकामना !