• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

वर्तमान सरकार कार्यकर्ता पोस्ने काम गरिरहेको डा. भट्टराईको आरोप

वर्तमान सरकार कार्यकर्ता पोस्ने काम गरिरहेको डा. भट्टराईको आरोप

राजविराज, २९ भदौ । नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान सरकारले अथाह ढङ्गले राज्यकोषको दुरुपयोग गरेर कार्यकर्ता पोस्ने काम गरिरहेको छ ।

चुनावी दौडाहामा रहेका उनले विहीवार राजविराजमा पत्रकार भेंटघाटका क्रममा यस्तो आरोप लगाएका हुन् । राज्यकोष दुरुपयोग गरेर कार्यकर्ता पोस्ने काम गर्दा पनि निर्वाचन आयोग समेत निरीह साबित भएको बताए । नियमित भारत सरकारले नियमित बनाएका उच्च बाँधहरु हटाउन सम्पूर्ण पार्टीहरु माथि उठेर राष्ट्रिय हितमा भारतसँग कुरा गरेर हटाउनुपर्नेमा उनले जोड दिए । कोसी गण्डकीको बाँध समेत त्रुटिपूर्ण रहेकोले पुनरावलोकन हुनुपर्ने पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले बताए ।

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले मधेशको मुद्दा हल गर्नकालागि राज्य पुनःसंरचना आयोगले प्रस्ताव गरेको मोडेल अनुसार प्रदेशहरुको सीमाङ्कन गर्नुपर्ने बताए । असोज २ गते हुन गइरहेको प्रदेश नं. २ को स्थानीय तह चुनावी अभियानका क्रममा सप्तरी आईपुगेका भट्टराईले बिहीबार सप्तरीको राजविराजमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै यस्तो बताएका छन् । उनले नयाँ शक्ति पार्टीले तराई मधेशका सबै समस्याहरुको हल गरी हिमाल, पहाड, तराई, मधेशलाई जोड्ने राष्ट्रिय एकताको अवधारणा अघि सारेको बताउँदै देशको समृद्धिकालागि राष्ट्रिय एकता अपरिहार्य रहेको बताए ।

नेपालको राजनीति भ्रष्टाचारको दलदलमा फँसेको र पुरानै पार्टीहरु सत्तामा फर्किन सक्ने सम्भावनाको आंकलन गर्दै नयाँ शक्तिले आन्तरिक रुपमा राष्ट्रिय एकता बलियो बनाई बाह्य रुपमा भारत र चीनसँगको सम्बन्धलाई समदूरीमा राख्नुपर्ने आवश्यकता औंल्याए । नयाँ शक्ति पार्टी सप्तरीले बिहीबार बिहान राजविराज नगरपालिकाको वडा नम्वर– ७ मा पैदलयात्रासहित घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा संयोजक भट्टराई, कार्यवाहक जिल्ला संयोजक राजेश विद्रोही, राजविराज नगरपालिका मेयर पदका उम्मेदवार मिना ठाकुर, उपमेयर पदका उम्मेदवार अनन्न लाल साह (आनन्द), कृष्णकुमार गुप्ता, शैलेन्द्र कुमार झा, सूर्यनारायण मण्डललगायतका अभियन्ताहरुको सहभागिता रहेको थियो । घरदैलो पश्चात् संयोजक भट्टराईले राजविराजको गजेन्द्र चोकस्थित मधेशका चर्चित नेता स्व. गजेन्द्रनारायण सिंहको सालिकमा माल्यार्पण गरे ।यसैबिच बुधबार संयोजक भट्टराईसहित नयाँ शक्ति पार्टी संसदीय दलका नेता गंगा चौधरी, सांस्कृतिक विभाग प्रमुख करिष्मा मानन्धर, सप्तरीका कार्यबाहक जिल्ला संयोजक राजेश विद्रोहीलगायतको टोलीले सप्तरीको खडक नगरपालिका, कृष्णसावरन गाउँपालिका एवं छिन्नमस्ता गाउँपालिकाका विभिन्न स्थानहरुमा आयोजित चुनावी कार्यक्रममा सहभागिता जनाएका छन् ।