पत्रकार सम्मेलनमा बोल्दै उनीहरुले बहकाव र दबाबमा लागेर आफुहरूले अमिन यादव माथि आरोप लगाएको बताए । अमिन यादवमाथि लगाएको आरोप निराधार रहेको बताउँदै स्थानीय बद्री मण्डलले काम गर्ने क्रममा हामी सेवाग्राहीहरूसँग कुनै रकम नलिएको राजनीतिक प्रतिशोध साध्न दबाब र प्रभावमा परेर त्यतिबेला लगाएको आरोपमा सत्यता नभएको स्पष्ट पारे ।
‘जग्गा धनी प्रमाणपत्र वितरण कार्यक्रम समयभन्दा दुई तीन घण्टा ढिलो शुरू भएपछि हामी तनावमा थियौं ‘ उनले भने ‘राजनीतिक प्रतिशोध साध्नेले सहभागीहरूलाई फकाउन राम्रै मौका पाएकोले अमिनले आरोप खेप्नुपरेको हो ।’
‘रकम नलिएर अमिनले सेवाग्राहीलाई सहज हुने काम गरेको थियोे । हाम्रै गल्तीले उल्टो आरोप खेप्नु पर्दा दु: ख लागेको छ । हामीलाई गल्ती महसुस भएकोले पत्रकार सम्मेलन गरेका हौँ ‘ स्थानीयले भने ।
बैशाख १२ गते नापी कार्यालय सप्तरीले डाक्नेश्वरी ९ मा आयोजना गरेको गाउँ ब्लकको जग्गा धनी प्रमाणपत्र (लालपुर्जा ) वितरण कार्यक्रममा सप्तरी क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य अमरकान्त चौधरीले कार्यक्रममा बोल्ने क्रममा स्थानीयहरूले अमिनले घुस लिएर लालपुर्जा वितरण गरेको आरोप लगाएका थिए ।
यस विषयमा अमिन यादवले आफुले कसैसँग कुनै रकम नलिएर सहज रूपमा काम गरेको बताए । आफुमाथि लगाएको आरोप गलत रहेको उनले दावी गरे ।