सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ मा अवस्थित श्री सुदेफु देवीलाल फुलमन्ती जनता माद्यामिक विद्यालय सितापुर भुर्की तीन तारे विद्यालय घोषणा भएको छ । ड्ब्लूएचएचको सहयोगमा महुली सामुदायिक विकास केन्द्र बकधुवा सप्तरीद्वारा खानेपानी तथा स्वच्छता सम्बन्धि निर्माण कार्य सम्पन्न गरि हस्तान्तरण गरेपछि मावि भुर्की सितापुरलाई तीन तारे विद्यालय घोषणा गरिएको हो ।
तीन राते विद्यालय घोषणा समारोहमा मञ्चासीन प्रमुख अतिथिसहित अतिथिगण । फोटो : न्यूज टुडे
विद्यालयद्वारा विद्यालय प्राङ्गणमा बुधबार आयोजित कार्यक्रममा प्रमुख अतिथि अग्नीसाइर कृष्णासवरन गाउँपालिकाकी कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरीले विद्यालयलाई प्रमाणपत्र हस्तान्तरण गर्दै व्यानर वाचन गरि तीन तारे विद्यालय घोषणा गरिन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र कुमार चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्यबाहक अध्यक्ष चौधरीले गाउँपालिकाले गर्न नसकेको काम पूरा गरेर हस्तान्तरण गरेकोमा खुशी व्यक्त गर्दै एमसीडिसीसहितका साझेदार संस्थाहरुलाई धन्यवाद दिइन् । विद्यार्थीलाई स्वच्छ खानेपानी र सुविधा सम्पन्न शौचालयसहितको साथै अन्य सरसफाइको पहुँच पुर्याउन योगदान गर्ने सहयोगी संस्थाका प्रतिनिधि, विद्यालय परिवार तथा प्रत्येक्ष, परोक्ष रुपमा अहोरात्र खट्ने सबैको प्रशंसा गर्दै उनले यस्तो नतिजामुखी उदाहरणीय कार्यको लागि गाउँपालिका सहकार्य गर्न तत्पर रहेको भन्दै त्यसका लागि अझै उचित बाताबरण सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरिन ।
अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ का अध्यक्ष पशुपति प्रसाद चौधरीले विद्यालय खानेपानी तथा स्वच्छता अभियानमा गरेको प्रगति सराहनीय रहेको बताए । विद्यालयसहित वडा नम्बर २ मा स्वच्छ खानेपानीको व्यवस्थापन गर्ने उदेश्यले अग्नीसाईर मन्दिर अगाडि विद्यालयको जग्गामा खानेपानीको हेड टंकी निर्माणाधीन अबस्थामा रहेको बताउँदै उनले आर्थिक बर्ष २०८३/०८४ मा थप २५ लाख बजेट विनियोजन गरेकोले योजनाले छिटै पूर्णता पाउने विश्वास व्यक्त गरे । उनले विद्यालयको अन्य पूर्वाधार निर्माण कार्यमा वडाबाट पनि छुट्टै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
महुली सामुदायिक विकास केन्द्र बकधुवाका कार्यकारी निर्देशक प्रभुनारायण चौधरीले खानेपानी तथा सरसफाइको १० वटा सूचक पार गर्न सफल भइ जिल्लामै दोश्रो तीन तारे विद्यालय घोषणा हुन सफलता हाँसिल गरेकोमा शुभकामना व्यक्त गरे । गाउँपालिकाको सबै विद्यालयलाई तीन तारे घोषणा गराउने उदेश्य राखेको बताउँदै उनले यसका लागि जनप्रतिनिधि, पत्रकार,राजनीतिक दल,सरोकारवाला निकाय तथा आम नागरिकको सहयोग अपरिहार्य रहेको बताए ।
कार्यक्रममा प्रावि इटहर्वाका प्रधानाध्यापक सुभाष कुमार चौधरी, स्वास्थ्य चौकी सितापुरका प्रतिनिधि राम कुमार अधिकारी, सितापुर खानेपानी, सरसफाइ तथा स्वच्छता समितिका सचिब श्याम कुमार चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै खानेपानी तथा सरसफाइ कार्यक्रमको निरन्तरतामा जोड दिए ।
खानेपानी तथा स्वच्छता योजनाको प्रगति प्रतिबेदन प्रस्तुत गर्दै विद्यालयका पूर्व प्रधानाध्यापक दुर्गानन्द चौधरीले महुली सामुदायिक विकास केन्द्र र विद्यालयको संयुक्त लगानीमा पूर्वाधार योजनाको काम गरिएको उल्लेख गरे । उनले एमसिडीसीको रु १३ लाख ९ हजार ४ सय २० तथा विद्यालयको रु ५ लाख १ हजार १ सय ८१ गरि कुल १८ लाख १० हजार ६ सय १ रुपैयाँको लगानीमा योजना सम्पन्न गरिएको प्रतिबेदन प्रस्तुत गरे ।
शिक्षक अभित कुमार चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत प्रधानाध्यापक कुलानन्द चौधरीले गरे भने खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धि १२ बुँदे प्रतिबद्धता पत्र २ नम्बर वडा सचिब कुशेश्वर यादवले वाचन गरेका थिए ।
उक्त अवसरमा कक्षा १ देखि १० सम्मका एक/एक जना छात्रछात्रालाई मेडलसहित सरसफाइ हिरो घोषणा गरि सरसफाइ किड्स प्रदान गरिएको थियो ।