राजविराज, ९ भदौ । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोबिन्द केसीले शुक्रवार यहाँका करिब एक हजार बाढी पीडित विरामीलाई निःशुल्क स्वास्थ्य उपचार सेवा र राहत सामग्री प्रदान गरेका छन् ।
जिल्लाको कञ्चनरुप नगरपालिका–६ धरमपुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरी डा. केसीसहितको चिकित्सक टोलीले एक हजार भन्दा बढी बाढी पीडित विरामीलाई स्वास्थ्य परीक्षण र निःशुल्क औषधी वितरण गरेका हुन् । सप्तरीको बाढीग्रस्त क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर चलाउने गरी यहाँ पाँच सदस्यीय टोलीसहित आएका डा. केसीले सो क्रममा बाढी पीडित ७ सय ५५ परिवारलाई खाद्यान्न, कपडा, टुथ पेस्ट, ब्रस, साबुनलगायतका राहत सामग्री समेत वितरण गरेका छन् ।
शिविर जिल्लाको बाढी प्रभावित अन्य क्षेत्रमा समेत चलाउने उनले जानकारी दिए । आमरन अनसनबाट अत्यन्तै कमजोर बनेका उनले पीडितहरुलाई भने हौस्याउँदै भने ‘तपाईहरुको पीडामा साथ छौं, प्राकृतिक प्रकोपबाट अतालिनु पर्दैन ।’ यस अघि पनि उनी गतवर्ष शीतलहर र बाढीबाट प्रभावित जिल्लाको ग्रामिण क्षेत्रमा पुगी स्वास्थ्य शिविर चलाउनुका साथै पीडितलाई राहत सामग्री वितरण गरेका थिए ।