राजविराज, २२ साउन । दाजुभाइ तथा दिदि बहिनीहरु बिचको अटुट सम्बन्ध दर्शाउने रक्षा बन्धन पर्व सप्तरीसहित मधेशका जिल्लाहरुमा सोमवार भव्यतापुर्वक मनाईदैछ ।
दाजुभाइको लामो आयुको कामनाका साथ दिदि बहिनीहरुले रक्षा सूत्र अर्थात राखी बाँध्ने प्रचलन रहँदैआएको हो । ससुरालीमा बस्दैआएकी दिदि बहिनीहरुले समेत माईती गएर दाजुभाइलाई निष्ठापुर्वक टीका लगाउनुका साथै राखी बाँध्ने गरिन्छ । दाजुभाइले समेत खुशी भएर आफ्नो क्षमता अनुसार लत्ताकपडा, गरगहना सहितका सामानहरु दिने प्रचलन छ । दाजुभाइको हातमा राखी बाँधेपछि सुख, शान्ति र दिर्घायु हुने जनविश्वास छ । भाइटीका पछिको दोस्रो ठूलो पर्वको रुपमा मनाईने रक्षाबन्धन पर्वका अवसरमा स्थानीय बजारहरुमा समेत किनमेल गर्नेहरुको चहलपहल बढेको छ । दिदीबहिनी नभएका दाजुभाइले पुरोहितबाट राखी बाँध्ने परम्परा रहेको छ ।