• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

विशेषज्ञको अभावले अञ्चल अस्पतालमा करोडौंको उपकरण अलपत्र

विशेषज्ञको अभावले अञ्चल अस्पतालमा करोडौंको उपकरण अलपत्र

राजविराज, १३ साउन । स्थापनाकालदेखि नै विशेषज्ञ र अति आवश्यक उपकरणको अभाव खेप्दै आएको राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा पठाईएका करोडौं मूल्यका उपकरणहरु थन्किन पुगेको छ ।
हाल अस्पतालमा पठाईएको नयाँ अल्ट्रासाउण्ड, अटोमेटिक एनेस्थेसिया मेसिन, फुल अटोमेटिक ल्याव, होरिजेन्टल एक्स रे मेसिन, अक्सिजन मेसिन र डायलोसिस मेसिन चार थान प्रयोग विहिन बन्न पुगेको छ । अञ्चल अस्पतालको अवस्था सुधारलगायतका मागहरु राख्दै नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकास कुमार तिवारीले जारी राखेको आमरण अनशनको १८ औं दिन तत्कालिन स्वास्थ्यमन्त्री गगन थापाले चार बुँदे सहमती गरेका थिए । सोही सहमतिहरुमध्ये अत्याधुनिक उपकरणहरु गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई पठाईएको थियो ।
अस्पतालमा २२ जना कन्सल्टेन्ट चिकित्सक हुनुपर्नेमा हाल दुई जना मात्र रहेका छन् भने ६ जना मेडिकल अधिकृतको दरबन्दी रहेकोमा दुई जना मात्र उपलब्ध छन् । यसैगरी अर्थोपेडिक र जेनरल सर्जनहरुको दरबन्दी पूर्ण रुपमा खाली रहेको छ ।
२ करोड २४ लाखको अत्याधुनिक उपकरणहरु खरिद गरिएको तथा यस अतिरिक्त विभाग तथा मन्त्रालयबाट समेत उपकरणहरु उपलब्ध भएको मेडिकल सुपरिन्टेन्डेन्ट डा. दयाशंकरलाल कर्णले जानकारी दिएका छन् । विशेषज्ञको अभावका कारण उपलब्ध उपकरणहरु सञ्चालनमा आउन नसकेको भन्दै विभागले यस विषयमा गम्भीरतापूर्वक लिने उनले विश्वास व्यक्त गरे ।
अस्पतालमा आएका सामानहरु पनि अलपत्र अवस्थामा रहेकोले सञ्चालनमा ल्याउनकालागि तत्कालिन विशेषज्ञ पठाउनुपर्ने अधिवक्ता अशोक कुमार चौधरीले जानकारी दिएका छन् । विशेषज्ञ चिकित्सक र अति आवश्यक सेवाहरुको अभावमा सर्वसाधारण जनता गुणस्तरीय स्वास्थ्य सेवाबाट बञ्चित रहेको बताउँदै उनले भने ‘वर्षौको पर्खाईपछि आएका उपकरणहरु सञ्चालनमा नआए त्यसको कुनै अर्थ रहँदैन, त्यसैले यसतर्फ सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण हुनु जरुरी छ ।
अस्पतालमा विशेषज्ञ चिकित्सक तथा विभिन्न सेवाहरुको अभावमा जटिल प्रकृतिका उपचारकालागि यस क्षेत्रका वासिन्दालाई धरान, बिराटनगर तथा भारतको दरभङ्गा, पटनालगायतका सहरहरु धाउनुपर्ने बाध्यता रहेको छ । करौडौं मूल्यका उपकरणहरु सञ्चालनमा ल्याउन विशेषज्ञ पठाउनकालागि सशक्त रुपमा आवाज उठ्नुपर्ने अधिवक्ता चौधरीले बताए ।