• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मैथिली साहित्य परिषद्को १५औं साधारण सभा उद्घाटन, सहमतीको प्रयास

मैथिली साहित्य परिषद्को १५औं साधारण सभा उद्घाटन, सहमतीको प्रयास

राजविराज, २६ चैत । मैथिल महासंघ नेपालका अध्यक्ष विष्णुकुमार मण्डलले आफैभित्रको कमजोरीका कारण भारत र नेपालमा मैथिली भाषाको स्थान सुनिश्चित हुन नसकेको बताएका छन् ।
राजविराज स्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयमा शनिवार आयोजित मैथिली साहित्य परिषद् राजविराजको १५औं साधारणसभाको उद्घाटन गर्दै उनले यस्तो कुरा बताएका हुन् । भारतमा मिथिलाराज्यको आन्दोलन चलिरहेको तथा नेपालमा समेत मैथिली आन्दोलनका क्रममा सहादत भएको प्रसङ्ग चर्चा गर्दै उनले भने ‘मिथिला–मैथिली आन्दोलनमा लागेकाहरु बीच व्यक्तिगत स्वार्थ र अहम् हावी रहेका कारण मैथिली भाषाको स्थान हालसम्म सुनिश्चित हुन सकेको छैन ।’
मैथिली साहित्य परिषद् संस्थापक सचिव श्यामसुन्दर झाले मैथिली भाषाको स्थान सुनिश्चित गराउन एकतावद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड । मन्तव्यका क्रममा उनले मैथिली साहित्य परिषद्को स्थापनालगायतका विभिन्न गतिविधिबारे जानकारी दिए ।
अन्र्राष्ट्रिय मैथिली परिषद् नेपालकी अध्यक्ष करुणा झाले एक अर्काको अस्तित्व स्वीकार गर्न नसक्नु मैथिलीको बाधक भएको बताईन् । एक–आपसमा सहकार्य गरेर अगाडि बढ्न आग्रह गर्दै मैथिली साहित्य परिषद्को सर्वसम्मत नयाँ कार्य समिति चयन गरेर संस्थागत विकासमा जुट्न उनले आह्वान गरिन् ।
उद्घाटन कार्यक्रममा मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष विवेकानन्द मिश्र, कवि खेलानन्द झा, नागरिक समाज सप्तरीका कार्यवाहक अध्यक्ष थानसिंह भन्साली, कमला भन्सालीलगायतले शुभकामना मन्तव्य व्यक्त गरे । परिषद्का अध्यक्ष शुभचन्द्र झाको अध्यक्षतामा आयोजित साधारणसभामा परिषद्का सचिव श्यामसुन्दर यादवले प्रतिवेदन तथा कोषाध्यक्ष पंकज झाले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सतिश दत्त तथा सञ्चालन सह–सचिव रामअधिन साहले गरे ।
सोही साधारणसभाले सर्वसम्मत कार्यसमिति चयन गर्न समन्वयकारी भूमिका निर्वाह गर्न परिषद्का पूर्व अध्यक्षहरु प्रा. अमरकान्त झा, विष्णुकुमार मण्डल, देवेन्द्र मिश्र, विवेकानन्द मिश्र र पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयका पूर्व प्राचार्य नथुनी दासलाई जिम्मेवारी दिएको छ ।