• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

स्वराजी बन्दीलाई पानी र सुत्ने ठाउँको व्यवस्था भएनः गठबन्धन

स्वराजी बन्दीलाई पानी र सुत्ने ठाउँको व्यवस्था भएनः गठबन्धन

सिरहा, १६ फाल्गुन । डा. सी.के. राउतसँगै २५ दिनदेखि लहान प्रहरी कार्यालय हिरासतमा रहेका स्वराजीहरुले आफुहरुसँग अझैं मानवीय व्यवहार नभएको भनी गुनासो गरेका छन् ।
गत फागुन ११ गते बुधवार म्याद थप्नकालागि प्रहरीले सिरहा जिल्ला अदालतमा उपस्थित गराउँदा इजलासमा छिर्ने वितिकै न्याधिश ध्रुव कुमार सापकोटाले कैदीहरुलाई कुनै समस्या भए नभएको सोधेका थिए । प्रतिउत्तरमा स्वराजीहरुले ७–८ जना पनि सुत्न नमिल्ने ठाउँमा आफूहरुलाई १९ जनासँगै राखेको, जसले गर्दा राती सुत्नै नसक्ने, अझ बस्न पनि गाह्रो हुने, खानेपानीको व्यवस्था नगरी ट्वाइलेटबाटै पानी खान भनेको, त्यो पनि धारा ५–७ दिनदेखि टुटेर विग्रदा पनि ठीक नगराएको र पानी आउने नगरेकै, विरामी हुँदा पनि औषिधी उपचार गराउन नलगेको र आफन्तहरु समयमै आए पनि भेटघाट गर्न नदिएको भनी समस्याबारे ध्यानाकर्षण गराएका थिए ।
न्याधीशले सो कुरा समाधान गर्न प्रहरी अधिकृतलाई निर्देशन दिएका थिए । बहसमा प्रतिवादी स्वराजीहरुको तर्फबाट ११ जना वकीलले बहस गर्दै राजनीतिक बन्दीहरुलाई छोडनु पर्ने भन्दै तर्क पेश गरे । संगठित अपराध ऐन आकर्षित नहुने, थप प्रगति नभएको हुनाले अनुसन्धानकालागी म्याद थाप्न न मिल्ने भन्दै सिरहा अदालतबाटै पूर्व फैसलाका प्रतिलिपीहरु पनि पेश गरेका थिए । कैदीहरुको स्थितिमा सुधार आउने अपेक्षा गरेका थिए तर उनीहरु बस्ने ठाउँमा अरु मान्छे थपेर २१–२२ जना नै बनाई बस्न समेत गा¥हो बनाइएको गठबन्धनका सह–संयोजक प्रा. कैलाश महतोद्वारा आइतवार जारी विज्ञप्तिमा जनाईएको छ ।
कार्यालयमा नयाँ डिएसपी. हीरा बहादुर पाँडे आएदेखि डा. राउतसँग भेटघाट समेत बन्द गरेको छ । कुनै पनि पत्रकार वा वकीलसँग समेत भेटघाट गर्नमा रोक लगाएको छ । सम्बन्धित व्यक्ति, संस्था वा निकायहरूलाई आ–आफ्नो ठाउँबाट नेपाल सरकारको यस्ता क्रियाकलापलाई निरूत्साहित गर्न तथा मानव अधिकारको पूर्ण रक्षाका निम्ति पहल गरिदिन महतोले अपील गरेका छन् ।