• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजविराज भएर हुलाकी राजमार्ग निर्माण गर्दा हज्जारौंको उठीबास हुने खतरा

राजविराज भएर हुलाकी राजमार्ग निर्माण गर्दा हज्जारौंको उठीबास हुने खतरा

राजविराज, १६ फागुन । राजविराज नगर भएर हुलाकी राजमार्ग निर्माण गर्दा हज्जारौंको उठीबास हुने विषयलाई ध्यानमा राखी त्यसलाई जोगाउन हुलाकी राजमार्ग पीडित तथा नगर बचाउ संघर्ष समितिले माग गरेका छन् ।
देशमै पहिलो पटक टाउन प्लानिङ्गका आधारमा निर्माण गरिएको नगरभित्रबाट हुलाकी राजमार्ग कायम हुने गरी ठेकेदारले हालै सर्वे कार्य सम्पन्न गरी डिटेल प्रोजेक्ट रिपोर्ट (डिपीआर) अन्तिम अवस्थामा रहेको बेला समितिले यस्तो माग गरेको हो । नगरभित्रबाट राजमार्ग निर्माण गरेमा त्यसबाट पीडित हुनसक्ने स्थानीयवासीहरुको शनिवार विहान भेला समेत आयोजना गरिएको थियो ।
भेलामा नगरको उत्तर वा दक्षिणतर्फबाट राजमार्ग लगी बस्तीलाई जोगाउनुपर्ने निर्णय भएको संघर्ष समितिका संयोजक रामकृष्ण दासले जानकारी दिए । सप्तरीको भारदह–कञ्चनपुर–राजविराज हुँदै बलान खोलासम्मको ४४ किलोमिटर राजमार्ग निर्माण गर्दा बस्ती जोगाएर उत्तर वा दक्षिणतर्फबाट लगिए रिङ्ग रोडको निर्माणकालागि पनि सघाउ पुग्ने भन्दै संघर्ष समितिका सचिव योगेन्द्रचन्द्र मिश्रले त्यसो नगरिए हज्जारौं नगरवासीको घरघडेरी हुलाकी राजमार्गमा परी उठिबास हुने र नगरको संरचनासमेत विग्रिने बताए । उनले भने ‘नगर क्षेत्रमा चार पुस्तादेखि जमिन टुक्रिने क्रम जारी छ, थोरै थोरै जग्गामा बसोवास गर्नेहरुको निवासदेखि व्यापार व्यवसाय समेत राजमार्गमा परेर सखाप हुने अवस्था छ ।’
सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुणकुमार प्रधानले राजमार्गकालागि उत्तर–दक्षिण गरी ६२ मिटर जग्गा आवश्यक रहेको भन्दै नगरभित्रबाट त्यसलाई लगिए धेरैको बिचल्ली हुने बताए । उनले देशकै सबैभन्दा पुरानो चन्द्रनहरको छेउलाई नै हुलाकी राजमार्ग कायम गरिएकोले कृषि प्रयोजनको महत्वपूर्ण आधार उक्त नहर समेत ध्वस्त हुने सम्भावना रहेको दावी गरे ।

तस्विरः राधेश्याम रमण