• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पछिया उडा कए ल’ गेलै खुशी सिमरके रुइया जँका…

पछिया उडा कए ल’ गेलै खुशी सिमरके रुइया जँका…

राजविराज, ९ फागुन । पछिया उडा कए ल’ गेलै खुशी सिमरके रुइया जँका… बोलको मैथिली भाषाको दुखान्त झैं भएको छ सप्तरीको गाविस जमुनी मधेपुरा वडा नम्वर–९ भथौलका एक सरदार परिवारमा ।
३५ वर्षिय युवा राम सरदार जसले कतारबाट कमाएको ज्यालाबाट ७ जनाको परिवार धान्दैआएका थिए । सिङ्गो परिवारको एक्लो सहारा बनेका उनको शुक्रवार राती कतारमै मृत्यु भएको छ । कमाएर विदेशबाट रकम पठाउन थालेपछि उनको परिवार खुशी छाएको थियो । यद्यपी सिङ्गो परिवारको खुशी आँशुमा बदलिन पुगेको छ ।
राती खाना खाएर सुतेका उनी विहान अबेरसम्म नउठेपछि सहकर्मी कामदारले हेर्न जाँदा मृत अवस्थामा भेटिएका थिए । संसारबाट विदा लिनु अघि राती करिब १० बजे आफ्नी पत्नीसँग कुरा गरेर भनेका थिए ‘मैले ४० हजार रुपैयाँ पठाई दिएको छु, तत्काल केहीले ऋण तिर्नु र घरधन्दा चलाउनु, केही दिनमै फेरी पैसा पठाई दिन्छु ।’ राती बृद्ध आमाबुवासँग मोबाइलमा कुराकानी गरेका पतीको मृत्यु भएको भनी बिहान अचानक खबर आएपछि पत्नी राजकुमारी सरदार बेहोसी अवस्थामा छिन् । कुनैबेला होस खुले पनि चिच्याउने गरेको स्थानीयवासिन्दाले जानकारी दिएका छन् । शनिवारदेखि उनको परिवारमा निरन्तर रुवाबासी चलेको छ ।
मृतक रामका बुवा केसी, आमाहरु फगुनी र भुटकीको आँखाको आँशु रोकिएको छैन । गत माघ महिनामा भिसा बनाएर कतार पुगेका उनले कमाएर ऋण तिर्ने, घर बनाउने र बालबच्चालाई पढाउने सपना साँचेका थिए । यद्यपी उक्त सपना सपनामै सिमित रहन पुगेको छ ।

गाउँमै अति मिलनसार एवम् सहयोगी मानिएका रामको निधनले सिङ्गो भथौल नै शोकमा डुबेको छ । सक्दो चाँडो रामको शव आईदिएको भए किरिया कर्म अगाडि बढाउन सजिलो हुने भन्दै बुवा केसीले पहलका सम्वद्ध सबैपक्षसँग आग्रह गरेका छन् ।
सरदार वैदेशिक रोजगारको शिलशिलामा टु सि इन्टरनेशनल म्यानपावर कम्पनी काठमाण्डौबाट कतारमा राजमिस्त्रीमा काम गर्न गएका थिए । मृतकका १४ वर्षिय जेठो छोरा श्याम कक्षा ९ मा, ११ वर्षिय माइलो छोरा सुन्दर कक्षा ७ मा अध्ययनरत छन् भने सात वर्षिय छोरी सन्तोषी कक्षा ३ मा अध्ययनरत छिन् ।
यता मृतक रामको शव ल्याउनकालागि सबल नेपालले पहल गरिरहेको जनाईएको छ ।