• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
देश भरीका मुसहरहरुले थाले जग्गा आन्दोलन

सप्तरी, ८ फागुन । नेपालमा पुस्तौदेखि बसोबास गर्दैआएका देश मुसहर समुदायले जिल्ला प्रशासन कार्यालयहरु मार्फत प्रधानमन्त्रीलाई मुसहरहरुले ज्ञापनपत्र पठाएका छन् ।

देशभरिका मुसहरहरुले १५ जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएका हुन् । नवलपरासी, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, उदयपुर, सिन्धुली, मोरड., झापा र काठमाडौं लगायत १५ जिल्लामा हजारौ मुसहरहरुले नगर परिक्रमा गरि प्रत्येक जिल्ला प्रशासन कार्यालयमा गई आफुहरुले भोग चलन गर्दै आएको जग्गाको लालपुर्जा प्रदान गर्न माग गर्दै नेपाल राष्ट्रिय मुसहर संघका जिल्ला संयोजकहरुको नेतृत्वमा हज्जारौं मुसहरहरुले प्रधानमन्त्रीको नाममा ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारीहरुलाई बुझाएका छन् ।
पुस्तौदेखि चरम गरिबीमा बसोबास गर्दै आएका १२ लाख भन्दा बढी जनसंख्या रहेको मुसहर समुदायका ९५ प्रतिशत मुसहर आज पनि भुमिहिन रहेकोले आफुहरुले घर बनाएर भोग चलन गर्दै आएको जग्गाको लालपुर्जा प्रदान गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।
नेपालमा मुसहर समुदाय पुस्तौ पुस्ता देखि नेपालका विभिन्न जिल्लाहरुमा बासोबास गर्दै आए पनि ९५ प्रतिशत भन्दा बढी मुसहरहरु अहिले सम्म पनि भुमिहिन छन् । कुनै पनि गांउको अन्य सबै जातजाती बसोबास गर्ने मुख्य बस्ती भन्दा टाढा ऐलानीमा, नदीको किनारमा, वा एकान्तमा रहेको जोखिम पुर्ण स्थानमा रहेका मुसहरहरुको मात्र बस्तीमा फुसको निकै नै सानो झुप्रो जस्तो घरमा कष्टपुर्ण रुपमा बाँच्न बाध्य छन् । ज्ञापनपत्रमा भनिएको छ ‘गाउँका केही अगुवा तथा जमिन्दारहरुले मुसहरहरुलाई गांउबाट एकदमै टाढा एैलानीमा बस्ती बसालेका थिए । केही वर्ष पछि जब ती जग्गाको मुल्य वृद्धि हुँदै जान्छ, गाउँका भु माफियाहरुले विभिन्न लोभ, लालच, जालझेल, प्रपञ्च रची मुसहरहरुलाई त्यहाँ बनाएका घर भत्काई जग्गा खाली गर्न लगाईरहेका छन र फेरि अर्को जोखिमपुर्ण एैलानी जग्गा मै विस्थापित गराई रहेका छन् ।’ यो क्रम केही वर्षको अन्तरालमा प्रत्येक मुसहर बस्तीमा निरन्तर चलि रहेको छ, नेपाल राष्ट्रिय मुसहर संघको उपाध्यक्ष नथुनी माझीले जानकारी दिए ।
उनका अनुसार कतिपय स्थानमा मुसहर समुदाय सात पुस्तादेखि बसि आएको व्यक्तिको नाउँमा नापी भएर पनि नापी कार्यालय, मालपोत कार्यालयका कर्मचारीले ती भु माफियाको प्रभावमा परि मुसहरलाई विस्थापित गर्न लागि परेका छन् । भु माफियाहरुले मुसहरहरुलाई धम्काउने गर्दा स्थानीय प्रशासनले पनि ती भुमाफियाको साथ दिईरहेको राष्ट्रिय मुसहर संघका उपाध्यक्ष प्रमिला देवी सदाले जानकारी दिइन ।
मुसहर समुदायको माग सम्वोधनकालागि दवाव दिन नेपाल राष्ट्रिय मुसहर संघको आयोजनामा जग्गा आन्दोलन शुरु गर्न बाध्य भएको नेपाल राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सदा मुसहरले बताए । शक्तिहिनको सशक्तिकरण–मुसहर समुदायको समग्र उत्थान अभियानको सहजीकरण तथा प्राविधिक सहयोगमा उक्त जग्गा आन्दोलनको थालनी गरिएको जनाईएको छ । विगत ८ वर्ष देखि सञ्चालित उक्त अभियानले गत दुई वर्षदेखि देश भरीका मुसहरहरुको जग्गाविहिनताको गम्भीर समस्याको बारेमा मुसहरहरुलाई र अन्य सरोकारवालाहरुलाई सचेत र सजग गराउँदै आएको र फलस्वरुप यो जग्गा आन्दोलन मुसहरहरुद्धारा नै शुरु भएको अभियानका संयोजक पचुलाल माझी मुसहरले जानकारी दिएका छन् ।