रूपन्देही, ७ फागुन । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतसहित समर्थकहरुको रिहाईको माग गर्दै रुपन्देहीको मर्चवारमा शनिवार निकालिएको शान्तिपूर्ण र्यालीमा प्रहरीले दमन गरेको छ ।
शान्तिपूर्ण र्यालीमा बिथोल्ने क्रममा प्रहरीले लाठी चार्ज र अश्रु ग्यास प्रहार गरेको गठबन्धनका सह–संयोजक कैलाश महतोद्वारा प्रेषित विज्ञप्तिमा जनाईएको छ । हजारौंको संख्यामा गाउँगाउँबाट झण्डा, बैनर र प्लेकार्ड बोकेर मर्चवार (मजगावाँ)को कार्यक्रमका सहभागी हुन जाने क्रममा प्रहरीले डर, त्रास एवं धम्काउँदै लखेटी–लखेटी सर्वसाधारण जनतालाई नियन्त्रणमा लिएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ ‘र्याली कार्यक्रम हेर्न आएकी करीव ६५ बर्षिय एक बृद्ध महिला सरस्वती देवी मल्लाहमाथि निर्मम लाठी प्रहार गरिएको छ, प्रहरीको लाठी प्रहारबाट सुरेना गा.वि. स.का १८ बर्षिया संगीता केवत टाउको फूटेर गम्भीर घाइते भई उपचारकालागि भैरहवा अस्पताल लगिएको छ ।’
भुजहिया गाउँबाट करिब पाँच हजारको संख्यामा रहेका रैलीमाथि दर्जनौं सेल अश्रु ग्यास र अन्धाधुन्द लाठी चार्ज गरिएको जनाईएको छ । यसैगरी विकास प्रसाद लोध, जितेन्द्र यादव, राजेश बड़ईलगायतका एक दर्जन कार्यकर्ताहरू गिरफ्तार भएको तथा शिवचरण केवट, सरस्वती देवी मलाह (लन्तिहवा), राम नारायण साह, गीता कुमारी, शेषमन मलाह, शुरमन मल्लाह लगायत दर्जनौंको टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको जनाईएको छ ।
यसैगरी आफ्ना नवालक छोरा र श्रीमती कोठामा एक्लै रहेको अवस्थामा प्रहरीले प्रहरी छापा मारी छोरा र श्रीमतीलाई मानसिक यातना दिएको सह–संयोजक महतोद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।
नेपाल सरकारद्वारा अमानवीय, गैरकानूनी, गैरन्यायिक र गैरलोकतान्त्रिक कार्यहरु भईरहेको भन्दै गठबन्धनले घोर आपत्ति जनाएको छ । उक्त विषयमा देश–विदेशमा क्रियाशील पत्रकार, कुटनितिज्ञ, राजनैतिक दल, वुद्धिजीवि, अधिकारकर्मीलगायत सरोकारवाला सबैमा यस्ता क्रियाकलापहरूले आफूहरुको वाकस्वतन्त्रता, आवत–जावत गर्ने स्वतन्त्रता र भेला हुन पाउने जस्ता मानवधिकार हनन् भइरहेको भन्दै सम्बन्धित व्यक्ति, संस्था वा निकायहरूलाई आ–आफ्नो ठाउँबाट आवाज उठाउन समेत गठबन्धनले प्रे विज्ञप्तिमार्फत अपिल गरेको छ । 






