राजविराज, ४ फागुन । यतिबेला मधेशका युवा जमातमा स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउत जस्तै कपाल र जुँगा पाल्ने होडबाजी चलेको छ ।
पछिल्लो समय मधेशमा आफ्ना बिचार राखेकै कारण पटक–पटक पक्राउ पर्ने र अदालतको आदेशमा रिहा हुने डा. राउतको जस्तै लामो कपाल तथा लत्रिएको जुँगा राख्ने र कुर्ता पाइजामा लगाउने क्रेज बढेको हो । महात्मा गाँधी, नेल्सन मण्डेला र गौतम वुद्धको विचार एवम् दर्शनबाट प्रभावित डा. राउतको जस्तै हुबहु देखिने अर्का अभियन्ता हुन् डा.विरेन्द्र कुमार यादव । पेशाले चिकित्सक रहेका डा. यादवलाई झट्ट हेर्दा छुट्याउनै गाह्रो हुन्छ ।
पछिल्लो पटक गठबन्धनले राजविराजमा आयोजना गरेको कार्यक्रममा अचानक उनी सहभागी भएपछि प्रहरीहरु समेत झुक्किए । ‘यही हो सिके राउत’ भन्दै पक्राउ गर्न तम्सिए । किन भने डा. राउत जस्तै जीऊडाल तथा कपाल र जुँगा समेत उस्तै उस्तै देखिएकोले केही समयपछि मात्र डा. राउत होइन भने कुरा थाहा पाएका थिए । डा. सिके र डा. बिके छुट्याउनै गाह्रो हुने गरेको सर्वसाधारणको भनाई छ । डा. सिके र डा. बिके दुवै सप्तरी निवासी हुन् । हुन त गठबन्धनमा युवाहरुले ‘हम भी सिके तुम भी’ भनी टोपी लगाएर कार्यक्रमहरुमा सहभागी हुने गरेका छन् ।
तस्विरहरुः ई. एसएन यादवको फेसबुकबाट


