• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

कामकाज ठप्प पार्दै स्थानिय निकाय कर्मचारी धर्नामा

कामकाज ठप्प पार्दै स्थानिय निकाय कर्मचारी धर्नामा

राजविराज, १ फागुन । सप्तरी जिल्लाका स्थानीय निकायका कर्मचारीहरु स्थानीय निकायको कामकाज ठप्प पार्दै धर्नामा बसेका छन् ।
कर्मचारीहरुले पेशागत माग राख्दै राजविराज स्थित जिल्ला विकास समितिको कार्यालय अगाडि धर्नामा बसेका छन् । अस्थायी तथा करारमा कार्यरत कर्मचारीले सेवा निरन्तरता, स्थानीय निकाय निर्वाचन, अब बन्ने ऐन नियम, कार्यविधि गठन आदेशबाटै स्थायित्व र व्यवस्थापनलगायतका मागहरु राख्दै कर्मचारीहरु आन्दोलनमा उत्रेका हुन् ।
कर्मचारीहरु आन्दोलनमा उत्रेपछि सप्तरीसहित देशैभरिको स्थानीय निकायको कामकाज ठप्प हुन पुगेको छ । दीर्घकालीन रुपमा करार र अस्थायी रुपमा कार्यरत ६ हजारभन्दा बढी कर्मचारीको समायोजनको मागअघि सार्दै कर्मचारीहरुले आन्दोलनलाई निरन्तरता दिएका छन् ।
माघ २३ गतेदेखि स्थानीय निकायका कर्मचारीहरुले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएका छन् । जिल्ला विकास समिति, नगरपालिका तथा गाउँ विकास समितिले स्थानीय स्वायत्त शासन ऐन अनुसार भर्ना गरेका कर्मचारीहरुले समेत अब गठन हुने स्थानीय तहको नेतृत्व गर्न पाउनु पर्ने उनीहरुको माग छ ।
यसैगरी स्थानीय निकाय ट्रेड युनियन संयुक्त समन्वय समिति काठमाण्डौले आइतवारै एक प्रेस विज्ञप्ति जारी गर्दै फागुन २ गतेदेखि जिल्लाका स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला ईन्जिनियर, कार्यकारी अधिकृतलगायत निजामती कर्मचारीहरु र गाविस सचिवहरुलाई फागुन २ गते सोमवारदेखि कार्यालय प्रवेश निषेध गर्ने र उनीहरुले प्रयोग गर्दैआएको सवारी साधन सञ्चालन गर्न निषेध गर्ने र उक्त सवारी साधन सम्वन्धित स्थानीय निकायमा राख्ने निर्णय गरेको जनाएका छन् । माग पुरा नभएसम्म स्थानीय निकायको कामकाज ठप्प गरी कार्यालयमा धर्ना दिने निर्णय भएको जनाईएको छ ।