सिरहा, १ फागुन । सिरहामा शान्तिपूर्ण रुपमा भेला भएका हज्जारौ मधेशी जनतामाथि प्रहरीले अन्धाधुन्ध लाठी चार्ज गर्दा ६ जना महिलासहित दर्जनौं घाइते भएका छन् ।
स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय संयोजक डा. सीके राउतसँगै इलाका प्रहरी कार्यालय लहानमा थुनामा रहेका १० जना स्वराजीलाई जिल्ला अदालत, सिरहा लगिने थाहा पाएर हजारौं मधेशी जनता डा. राउतको समर्थनमा अदालत जान खोज्दा नेपाल प्रहरीले दमन गरेका हुन् । प्रहरीको अवरोध पश्चात पनि अदालत अगाडि शान्तिपूर्ण रुपमा भेला भएका सर्वसाधारण जनतामाथी लाठी चार्ज गर्दा ६ जना महिला सहित दर्जनौ घाइते भएको गठबन्धनका सह–संयोजक कैलाश महतोले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

सिरहा जिल्ला अदालत अगाडि नेपाल प्रहरीको लाठीचार्जबाट आशा पाल, चंडी देवी महरा, रामादेवी महरा, अमीरकला महतो, कुमारी महतो, कुशुम महतो, काशी देवी र तेतरी देवी रहेका छन् । यसैगरी राम वली यादव, राज कुमार यादव, विजय कुमार यादव, मनराज यादव, रामअधिन यादव, परमेश्वर यादव, उमेश महतो, सन्दिप लाल महरा, प्रविन यादव, मिथुन सिंह, बिरेन्द्र गामी, विनोद कुमार यादव लगायत अन्य नामावली बाँकी रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी सुरेन्द्र मधेशी, चन्देश्वर मण्डल, दिपेन्द्र यादव र प्रेम ठाकुर सहित ७ जना प्रदर्शनकारीलाई प्रहरीले हिरासतमा लिएको जनाईएको छ । गाउँगाउाबाट साइकल, मोटरसाइकल र गाडीमा जिल्ला अदालत, सिरहा बाजार आउन लागेका मधेशी जनतालाई बाटोमा रोकेका सह–संयोजक महतोले जानकारी दिएका छन् । ‘निहत्था मानव भीडमा प्रहरीले दमनको प्रकाष्ठा पार गर्दै निर्घात कुटपीट गरेका छन् र सो घटनाको फोटो खिच्न लागेका अर्को एकजना व्यक्तिको टाउकोमा लाठी प्रहार गर्दै उनको मोबाईल फोन पनि फाडिदिएका छन्’ विज्ञप्तिमा अगाडि भनिएको छ ‘यसका बावजुद त्यहाँ शान्तिपूर्ण नारा–जुलुस गरिरहेका अनगिनत सर्वसाधारणलाई कुटपीट गरेका छन् ।’
गत माघ २० गते बुधवार दिउँसो ३ बजे नेपाल प्रहरीले निवासमा जनकपुर स्थितको निवासबाट डा. राउतलाई पक्राउ गरे लगते सुरु भएको शांतिपूर्ण विरोध प्रदर्शनको क्रममा रौतहटबाट गिरफ्तार गरिएको हजमिनियाँको ६० बर्षिय अशोक सिंह, पचरुखीका ३६ वर्षिय बिरेन्द्र साहलाई अनुसन्धानको नाममा माघ २८ गते शुक्रवार थप ८ दिन म्याद रौतहट जिल्ला अदालत बाट थप्न लगाईएको जनाईएको छ । शान्तितपूर्ण प्रदर्शन गर्ने क्रममा पक्राउ परेका सिरहा ईटाटारका सञ्जय यादव, सनैठाका राजकुमार त्यागी, सुरेश यादव, अशोक यादव, मझौराका रामशंकर यादव, मिर्चैयाका रुकेश यादव, सिरहाका बिपिन यादव, ईटाटारका रोशन यादव, सोहपुरका राजेश मण्डललाई डा. राउतसँगै अनुसन्धानकोलागि थप १० दिन थुनामा राख्न अदालतले आदेश दिएका छन् । यस्तै झापादेखि कैलालीसम्मका ग्रामीण भेगहरुमा महिला तथा विद्यार्थीहरुले शान्तिपूर्ण प्रदर्शन र विरोधसभा आयोजना गरी डा. राउतको अविलम्व रिहाईको माँग गरेका छन् ।
सरकारबाट भएको मानव विरोधी घटनाको घोर भत्र्सना गर्दैै सह–संयोजक महतोले देशी–विदेशी पत्रकार, कुटनीतिज्ञ, राजनीतिक पार्टी, वुद्धिजीवि, मानवअधिकारकर्मीलगायत सबैमा गम्भीरतापूर्वक लिन आग्रह गरेका छन् । दमनात्मक क्रियाकलापले वाक स्वतन्त्रता, आवत–जावत गर्ने स्वतन्त्रता र भेला हुने स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप हुनुका साथै नेपाल सरकारद्वारा मानवाधिकारको घोर हनन् भइरहेको विज्ञप्तिमा जनाईएको छ । सम्बन्धित व्यक्ति, संस्था र निकायहरूले आ–आफ्नो ठाउँबाट नेपाल सरकारका यस्ता क्रियाकलापलाई निरूत्साहित गर्न, दोषी प्रहरीलाई कार्वाही सहित मानवअधिकारको रक्षाका लागि आवश्यक पहल गरिदिन गठबन्धनको तर्फबाट सह–संयोजक महतोले अनुरोध गरेका छन् ।