वीरगञ्ज, १ फागुन । सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन बिना देशमा स्थानिय निकायको निर्वाचन नहुने ठोकुवा गरेका छन् ।
सदभावना पार्टीको वीरगंजमा सम्पन्न तिन दिवसीय राष्ट्रिय बिस्तारित बैठक पछि प्रेस मञ्च नेपाल पर्सा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संविधान संशोधनको विरोधमा सडकदेखि सदनसम्म खुलेयाम रुपमा एमालले बिरोध गरिरहेको र यहि चरित्र रहे मधेसबाट एमाले समाप्त हुने बताए । एमालले मधेस प्रदेशलाई धोती प्रदेश, मधेस आन्दोलनको शहिदहरुलाई लटरम झरेको आँप, मधेसको समतल भु–भागलाई युपी बिहारको समतल भू–भाग, विश्व प्रसिद्ध मानव साङ्गलोलाई माँखे साङ्गलो, कालो दिवसलाई मधेसीको अनुहारसँग जोड्नु एमाललेको चरित्र झल्काएको महतोले बताए ।
मधेसमा नरसंहार गरेर मधेस बिरोधी संबिधान जारी गरेको खसवादी पार्टीहरु जहिले पनि मधेसीलाई अधिकार ,पहिचान र स्वभिमानबाट वंचित गराई पुनः दास बनाउने चलखेल गरिरहेको आरोप लगाए । वर्तमान संविधान संशोधन नभए सम्म कार्यन्वयन नहुने र कार्यान्वयन नभए स्वतः खारेज हुने भएकोले सो संबिधानलाई खारेज गराउने वा संबिधान संगै संबिधानबाट प्राप्त उपलब्धी समाप्त पार्ने कार्यमा एमालले लागेको आरोप लगाए ।
सद्भावना पार्टीको वीरगञ्जमा सम्पन्न तीन दिवसीय राष्ट्रिय बिस्तारित बैठकबाट पार्टीको छैठो राष्ट्रिय महाधिवेशन २०७४ जेष्ठ १, २ र ३ गते वीरगञ्जमा गर्ने निर्णय गरेको छ । साथै बैठकले मधेस आन्दोलनमा सहादत प्राप्त अमर वीर शहिदहरुलाई अझै पनि शहिद घोषणा गर्न बाँकी रहेका लाई शहिद घोषणा, मधेस आन्दोलनको क्रममा लगाईएका झुठा मुदा फिर्ता, न्याय परिषदद्वारा नियुक्त ८० न्यायधिशहरुको नियुक्ति खारेजका साथै मधेशी वकिलहरुको आन्दोलनमा ऐक्यवद्धता, मधेस अधिकारका लागि संघर्ष गरिरहेका भुमिगत समुहको मुद्दा फिर्ता, राष्ट्रिय युवा परिषद एउटा बिशेष दलको कार्यकर्ता भर्ना बन्द गर्नुपर्ने, सडक बिस्तारको नाममा आतंक बन्द गर, चुरे क्षेत्रको उचित संरक्षण जस्ता महत्वपुर्ण माँगहरु नेपाल सरकार संग अविलम्ब पुरा गर्नकोलागि बैठकले अनुरोध गरेको छ ।
पत्रकार सम्मेलनमा सदभावना पार्टीका महासचिव मनिष सुमन, सहमहासचिव अर्जुन उप्रेती, प्रेस मंच नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेल, सदभावना पार्टीका केन्द्रिय सदस्य निजामुदिन समानी, पर्सा जिल्ला अध्यक्ष ईम्दाद गद्दी, उपाध्यक्ष ईश्वर यादव, प्रेस मंच नेपालका केन्द्रिय उपाध्यक्ष बिन्द किसोर साह, कोषाध्यक्ष एस.एम.जहाँगस्त सहभागि पत्रकार सम्मेलन प्रेस मंच पर्सा शाखाका अध्यक्ष बिजयकुमार ठाकुरको सभापतित्वमा सम्पन्न भएको छ । सदभावना पार्टीको अगामी बर्ष जेष्ठमा हुने छैठो राष्ट्रिय महाधिवेशन मुल तयारी समिति, महाधिवेशन विधान संशोधन मस्यौदा समिति, महाधिवेशन घोषणा पत्र तयारी समिति, महाधिवेशन मुल आर्थिक समिति, महाधिवेशन मुल प्रसार प्रसार समिती, अन्र्तराष्ट्रिय अतिथी सत्कार समिति समेत गठन भइसकेको पार्टीका प्रवक्ता संतोष मेहताले बताए । महाधिवेशन अगाडि चैत्र १३ गते देखि १९ गते भित्र गाँउ, वडा अधिवेशन , चैत्र २० गते नगर अधिवेशन , चैत्र २२ गते देखि चैत्र २८ गते भित्र क्षेत्रिय अधिवेशन , वैशाख २ गचे देखि २० गते भित्र सम्पुर्ण जिल्ला अधिवेशन सम्पन्न गर्ने बैठकले निर्णय गरेको पार्टीका सह अध्यक्ष एवं सांसद लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् ।