बीरगञ्ज, २९ माघ । राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले मधेशको मुद्दालाई घटनासग नजोडेर मुटुसँग जोडनु पर्ने आवश्यकता औल्याएका छन् ।
समाजवादी शिक्षक संघको प्रथम केन्द्रिय अधिवेशनको शनिवार बीरगञ्जमा उद्घाटन गर्दै अध्यक्ष भण्डारीले मधेशको अधिकार, समस्यालाई राजनीतिक स्वार्थसँग जोडेर बेच्ने प्रचलनले मुख्य मुद्दा ओझेलमा परेको बताए । विभेद विरुद्धको संघर्षमा आफनो स्वार्थ भन्दापनि मुद्दालाई बलियो बनाउनु पर्ने कुरामा जोड दिए ।
संविधान जारी गर्दा ९० प्रतिशतले जारी गरेको भनियो अहिले ५० प्रतिशतले संशोधन प्रस्ताव किन दर्ता गरेका छन् भनि प्रतिप्रश्न गरे । कांग्रेस, एमाले र माओवादीले मधेशको मुदालाई ओझेलमा पार्नकोलागि षडयन्त्र गरिरहेको बताउँदै संशोधन प्रस्ताव दर्ता भएको दुई महिना वित्दा पनि अगाडि बढ्नु दुर्भाग्यपूर्ण भएको बताए ।
शिक्षकहरु समाजको उत्प्रेरक भएकोले मधेशी समाजमा रहेका विभिन्न भ्रमलाई चिर्न शिक्षकवर्ग अगाडि बढ्नु पर्नेमा अध्यक्ष भण्डारीले जोड दिए । समाजवादी शिक्षक संघ पर्साका अध्यक्ष अमरेश ठाकुरको सभापतित्वमा भएको उद्घाटन समारोहमा राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय सचिव रितेश सिंह, केन्द्रीय सदस्य राजेशमान सिंह, सुरेन्द्रनाथ तिवारी, शम्भु चौरसिया, लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसैबिच समाजवादी शिक्षक संघको प्रथम केन्द्रिय अधिवेशनबाट केन्द्रिय अध्यक्षमा कुमोद सिंह, वरिष्ट उपाध्यक्षमा हरी प्रसाद मण्डल, महासचिवमा उमेश ठाकुर, कोषाध्यक्षमा अनिल कुमार कर्ण, सचिवमा अभिशेक तिवारी, केन्द्रिय सदस्यहरुमा शमशुल हक, अमरकान्त झा, अर्मेन्द्र कुमार सिंह, राम एकबाल सिंह, राम एकबाल मण्डल, सत्येन्द्र सिंह, चन्द्रकला ठाकुर, रबिन्द्र कुमार यादव, शैलेन्द्र कुमार सिंह, सबिता कुमारी यादव, उमेश कुमार यादव लगायतका छन ।