चन्दन रौनियार, वीरगञ्ज, २९ माघ । वीरगञ्जमा शुक्रवारदेखि शुरु भएको सदभावना पार्टीको राष्ट्रीय कार्य समितिको बिस्तारित बैठक आज शनिवार दोस्रो दिन पनि जारी रहेको छ ।
पार्टीका राष्ट्रीय अध्यक्ष राजेन्द्र महतोको उद्घाटन सम्बोधनबाट सुरू भएको थियो । एमाले विभेद र बिखण्डनको कारक तत्व रहेको र एमाले पार्टीले संबिधान संसोधनबारे सकारात्मक प्रतिबद्धता नराखेसम्म वार्ता र सम्वादको कुनै अर्थ नरहेको धारणा राखे । पार्टीका सह–अध्यक्ष मा लक्ष्मण लाल कर्णले संचार माध्यममा आए जस्तो एमालेसँग कुनै वार्ता र सम्वाद नभएको स्पस्ट पारे । 
बैठकको प्रमुख एजेण्डाको रूपमा रहेको सदभावना पार्टी परिचालन निर्देशिका २०७३, सदभावना पार्टी आर्थिक नियमावली २०७३ र पार्टी नियमावलीमा संसोधन सम्बन्धी एजेण्डामा सुझाव दिन सम्पूर्ण बैठकमा सहभागीहरूलाई जिल्लागत आधारमा तीन समुहमा बिभाजन गरि छलफल गराईएको थियो । झापा, मोरंग, सुनसरी, बारा, कैलाली, कंचनपुर र चितवनको संयोजक पार्टी बरिष्ठ उपाध्यक्ष नरसिंह चौधरी, सप्तरी, सिरहा, पर्सा, कपिलवस्तु, दांग, बाँके, बर्दिया जिल्लाको संयोजकमा पार्टी बरिष्ठ उपाध्यक्ष नवल किशोर साह र धनुषा, महोत्तरी, सर्लाही, रौतहट, मकवानपुर, नवलपरासी, रूपन्देही जिल्लाको संयोजकमा पार्टी उपाध्यक्ष मृगेन्द्र सिंह यादवलाई चयन गरी छलफल गराईएको थियो ।
तीनै समुहका संयोजकले छलफलको आधारमा आएको सल्लाह र सुझावलाई आजको बैठकमा प्रस्तुत गर्ने कार्यक्रम रहेको जानकारी केन्द्रीय सदस्य उपेन्द्र महतोले जानकारी दिएका छन् ।