चन्दन रौनियार, सुनसरी, २९ माघ । हुलाकी न्युज डट्कमलाई प्रेस काउन्सिल नेपालले मंगलबार स्पष्टिकरण सोधेकोमा प्रेस मंच नेपालले गम्भिर आपत्ति जनाएको छ ।
स्वतन्त्र मधेश गठबन्धनका अभियन्ता डा. सीके राउतको अभियानलाई प्रोत्साहित तथा प्रचार प्रसार गरेको आरोपमा काउन्सिलले उक्त अनलाइनलाई स्पष्टिकरण सोधेको हो । मञ्चका केन्द्रिय अध्यक्ष संतोष पटेलले शुक्रवार एक प्रेस बिज्ञप्ती जारी गरी हुलाकी न्युजले राउतको अभियानलाई प्रोत्साहित तथा प्रचार प्रसार नगरी जनतामा सत्य तथ्य सुचना पु¥याएर पत्रकारिताको पेसागत धर्म निर्वाह गरेको जनाएका छन् ।
‘प्रेस काउन्सिलको यो कदमले राज्यमा अझै पनि हुकुमी शासन चलिरहेको स्पष्ट हुन्छ तर त्यसलाई राउतको अभियानलाई प्रचार प्रसार तथा प्रोत्साहन गरेको देख्नुले मधेश तथा मधेशी पत्रकार, संचार माध्यमहरुलाई देख्ने दृष्टि स्पष्ट भएको छ’ प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ ‘तसर्थ यस्ता विभेद गर्ने कार्यहरु अविलम्व बन्द गर्न हामी जोडदार माग गर्दछौ ।’
मधेस आन्दोलनको बेला मधेस केन्द्रित सञ्चारगृहले सत्य तथ्य समाचार प्रकाशन एवं प्रशारण गर्दा पनि प्रेस काउन्सिलले बिना कारण अंकुश लगाउने कार्य गरेको भन्दै मञ्चले आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ । स्वतन्त्र मधेश गठबन्धनका अभियन्ता डा. सीके राउत पक्राउ प्रायःजसो सबै सञ्चार माध्यमहरुले आ–आफ्नो कोणबाट समाचारहरु प्रकाशन तथा प्रसारण गरिरहेको भन्दै मधेश केन्द्रित मिडियाहरुले मधेशलाई केन्द्रविन्दुमा राखी समाचारहरु प्रकाशन तथा प्रसारण गरिरहेको बिज्ञप्ती मार्फत पटेलले जनाएका छन् ।