• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

आन्दोलनकै बलमा मैथिलीको भविष्य निर्धारण हुन्छः महासचिव मिश्र

आन्दोलनकै बलमा मैथिलीको भविष्य निर्धारण हुन्छः महासचिव मिश्र

राजविराज, २८ माघ । मिथिला राज्य संघर्ष समिति दरभङ्गा भारतका महासचिव प्राध्यापक उदयशंकर मिश्रले सशक्त आन्दोलनको बलमा मात्रै मिथिला र मैथिलीको भविष्य स्थापित हुन सक्ने बताएका छन् ।
मैथिली साहित्य परिषद् राजविराजद्वारा शुक्रवार मैथिली भवनमा आयोजित साहित्यिक गोष्ठिमा बोल्दै प्रमुख अतिथि मिश्रले यस्तो कुरा बताएका हुन् । विगतमा मैथिलीको अवस्था समृद्ध रहे पनि राज्यको विभेदकारी नितीका कारण पछि पर्दै गएको बताउँदै उनले भने ‘सशक्त आन्दोलनको बलमा मात्रै मिथिला र मैथिलीको भविष्य सुनिश्चित हुनसक्छ, नभए सहज रुपमा राज्यले मैथिलीलाई स्वीकार्ने अवस्था छैन ।’
मैथिली लोक संस्कृति मञ्च दरभङ्गाका महासचिव समेत रहेका मिश्रले मिथिलाको अस्तित्वलाई समाप्त पार्ने षडयन्त्र भईरहेको भन्दै नेपालको मिथिला क्षेत्र र भारतीय मिथिला क्षेत्रको अवस्थामा खासै अन्तर नरहेको प्रष्ट्याए । ‘मिथिलाको इतिहास अहिलेको होइन, बाल्मीकी रामायणमा समेत सीतालाई मैथिली भनेर सम्वोधन गरिएको छ’ उनले भने ‘भारतमा मैथिलीलाई अष्टम् अनुसूचीमा सुचीकृत गरिए पनि शिक्षाको माध्यम बन्न सकेको छैन, नेपालमा समेत मातृभाषामा पठनपाठन गर्ने कुरा स्वीकार गरे पनि व्यवहारमा भने मैथिलीमा पठनपाठन हुन सकेको छैन ।’
भारतका तत्कालीन प्रधानमन्त्री पं. जवाहरलाल नेहरुले ई.सं. १९६२ मा संसारकै मीठो एवम् कर्णप्रिय भाषा मैथिली भएको भनी स्वीकार गरेको बताउँदै प्रमुख अतिथि मिश्रले मैथिलीभाषीहरुले एक–आपसमा सहकार्य गरेर सशक्त संघर्ष गर्नुपर्नेमा जोड दिए । भारतीय मैथिली अभियानी र नेपालका मैथिली अभियानी संस्था तथा व्यक्तिहरु बिच समन्वय एवम् सहकार्य गरेर अगाडि बढ्नुपर्ने उनले बताए ।
मैथिली साहित्य परिषद् राजविराजका अध्यक्ष शुभचन्द्र झाको अध्यक्षतामा आयोजित गोष्ठिमा मैथिली महासंघ नेपालका अध्यक्ष विष्णु कुमार मण्डल, परिषद्का पूर्व अध्यक्ष एवम् वरिष्ठ साहित्यकार देवेन्द्र मिश्र, लेखक एवम् प्राध्यापक भोला झा, प्राध्यापक अशोक कुमार झा, अन्तर्राष्ट्रिय मैथिली परिषद् नेपालकी अध्यक्ष करुणा झा, साहित्यकार पूनम ठाकुर, पब्लिक विन्देश्वरी उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ई. प्रयाग यादव, जनता माध्यमिक विद्यालय बोरियाका अवकाशप्राप्त प्रधानाध्यापक भवेन्द्र यादव लगायतले मैथिली भाषाको अवस्था र भविष्यबारे चिन्ता व्यक्त गरे ।