• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

गङ्गाराम र सुशीलादेवीले आफ्नै नाममा स्थापना गरे ट्रष्ट

गङ्गाराम र सुशीलादेवीले आफ्नै नाममा स्थापना गरे ट्रष्ट

राजविराज, २६ माघ । सप्तरीको बिसहरिया घर भई हाल राजविराज–३ मा बस्दैआएका एक दम्पतीले समाज सेवा गर्ने उद्देश्यका साथ आफ्नै नामबाट ट्रष्ट स्थापना गरेका छन् ।
राजनीतिकर्मी गङ्गाराम यादव र समाजसेवी सुशीला देवी यादवले आफ्नै नामबाट ट्रष्ट स्थापना गरी बुधवारदेखि औपचारिक रुपमा कार्यालय सञ्चालन गरेका छन् । शहिद दशन चौक छेउमा रहेको भवनमा आयोजित एक समारोहका बीच ११४ वर्षिय ज्येष्ठ नागरिक मुनर यादवले औपचारिक रुपमा गङ्गाराम सुशीलादेवी ट्रष्टको उद्घाटन गरेका छन् ।
ट्रष्टले पर्यावरण संरक्षणकागि गाउँवाटिका तथा नगरवाटिका अभियान सञ्चालन, पर्यावरणीय एवम् पर्यटकीय महत्वको गङ्गाराम सुशीलादेवी उद्यान स्थापना गर्ने, महिला चेतना, सीप, रोजगार तथा व्यवसायमूलक प्रशिक्षण सञ्चालन गर्ने, बालअधिकार सामाजिकरणमूलक कार्यक्रम, सामुदायिक स्वास्थ्य सुविधाकालागि एम्बुलेन्स सञ्चालन गर्ने उद्देश्य राखेको ट्रष्टका कानूनी सल्लाहकार सन्तोष कुमार चौधरीले जानकारी दिए । उनका अनुसार पिछडिएको गाउँ, समुदाय वा वर्गमा निःशुल्क स्वास्थ्य शिविर, दैवीप्रकोप न्यूनिकरण, विपद् व्यवस्थापन र विपद् पूर्व सचेतना, शैक्षिक विकास तथा कृषि शिक्षाको विकासकालागि यथोचित कार्य, संस्थाको उद्देश्य क्षेत्रमा विशेष योगदान गर्ने सञ्चारकर्मीलाई पुरस्कृत गर्ने, अनाथ तथा असहाय बालक तथा बृद्धबृद्धाको जीवनयापनको व्यवस्था, सामाजिक सेवा तथा मानव कल्याणकालागि उपयुक्त कार्य ट्रष्टले गर्नेछन् । पर्यावरणीय एवम् पर्यटकीय महत्वको गङ्गाराम सुशीलादेवी उद्यान स्थापना, शिविर, कार्यालय भवन र एम्बुलेन्स तत्काल सञ्चालन गर्ने अधिवक्ता एवम् पत्रकार चौधरीले जानकारी दिए ।
कार्यक्रममा डा. दीपा यादव, नेपाल निजामती कर्मचारी ट्रेड युनियनका जिल्ला अध्यक्ष अजय कुमार झा, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका सप्तरीका अध्यक्ष अमरनाथ मण्डल, तराई मधेश सद्भावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव, सामुदायिक प्रहरी सेवा मञ्चका अध्यक्ष हितनारायण लाल दास, महदेवा गाविसका निवर्तमान अध्यक्ष दानालाल यादव, नुनुलाल यादव, जेपी लोहिया ट्रष्टका दिनेश सिंह, प्रेस सेन्टरका दिनानाथ यादवलगायतले शुभकामना मन्तव्य गर्दै ट्रष्ट सञ्चालन गरेकोमा यादव दम्पत्तिको प्रशंसा गरेका छन् ।
सोही कार्यक्रममा प्रमुख अतिथि ज्येष्ठ नागरिक मुनर यादव र ट्रष्ट सञ्चालनमा महत्वपूर्ण योगदान पुर्याउने अधिवक्ता सन्तोष कुमार चौधरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । ट्रष्टका सचिव हरेराम यादवद्वारा सञ्चालित कार्यक्रममा ट्रष्टका सदस्य नेत्रविक्रम साहले स्वागत मन्तव्य व्यक्त गरे । सोही कार्यक्रममा ई. नवीनचन्द्र देवले ट्रष्टलाई पाँच हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् ।
यादव दम्पतीले नगद पाँच लाख रुपैयाँ तथा ११ कट्ठा जग्गासमेत हस्तान्तरण गर्दै ट्रष्ट सञ्चालन गरेका छन् । कृषि विकास बैंकको अधिकृत भएर सेवा निवृत भएका उनी बिसहरिया गाउँ विकास समितिको अध्यक्ष तथा गाविस महासंघको अध्यक्ष समेत भएका थिए । हाल मधेशी जन अधिकार फोरम गणतान्त्रिकका केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा समाजिक क्षेत्रमा समेत काम गर्दैआएका छन् ।
ट्रष्टको सञ्चालक समितिको अध्यक्ष गङ्गाराम यादव, उपाध्यक्षमा सुशीलादेवी यादव, सचिवमा हरेराम यादव र कोषाध्यक्षमा सुशील कुमार यादव रहेका छन् । सदस्यमा चन्द्रभूषण यादव, सन्तोष कुमार यादव, अमरेन्द्र कुमार यादव, नेत्रविक्रम साह र प्रमेश्वर खङ्ग रहेका छन् । सल्लाहकारमा मिश्रीलाल यादव र अशोक कुमार यादव रहेका छन् ।