• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
साँझ नपर्दै पशु चौपाया चोरी हुन थालेपछि…

बोधराज सुवेदी/महुली, २६ माघ । साँझ नपर्दै पशु चौपाया चोरी हुन थालेपछि यतिखेर महुली लगायत आसपासका गाउँवासीहरु त्रसित हुन थालेका छन् ।
साँझमा खोलेपानी गरेर गोठमा बाँधेको पशुधन वेलुका सुत्न नपाउँदै गोठवाट गायव हुन थालेपछि पशुपालक किसानहरु चिन्तित भएका हुन् । मङ्गलवार साँझ करीव सात बज्न नपाउँदै सप्तरीको बकधुवा— ९ स्थित फारमटोलका ५२ वर्षिय चन्द्र वहादुर खत्रीको हलगोरु हराए ।
खाना खाएर सुत्नु अघि उनी घाँस हाल्न गोठमा जाँदा वाँधेको ठाउँमा हलगोरु थिएनन्। आफैंले खोलेपानी ख्वाएर वाँधेको गोरु करीव दुई घण्टा पछि गोठमा नदेख्दा उनी आस्चर्य चकित परे । केहीवेर घर वरीपरी खो्जे । नभेटे पछि उनेले छिमेकीलाई भने । गाउँभरी खोज तलास गरे । कहीं पत्तो नलागेपछि गोरु चोरी भएको ठहर गरी उनले तत्काल प्रहरीलाई मौखिक जानकारी गराएका थिए। प्रहरीले खवर पाउनासाथ खोजी कार्यलाई तिव्रता दिया े। वरिपरीको गाऊँमा सुचना गरियो। सवै मिलेर ब्यापक खोजी गर्दा पनि गोरु भेटिएनन् ।
मंगलवार रातभरी खोज्दा पनि नभेटेपछि चन्द्र बहादुरले हलगोरु खोजिदिन भनी बुधवार ईलाका प्रहरी कार्यालय महुलीमा निवेदन दर्ता गराएका छन्। संकास्पद ब्यक्तिको हुलिया सहित निवेदन परेपछि प्रहरीले संदिग्ध ब्यक्ति र केही पशु ब्यपारीहरुलाई निगरानीमा राखी खोजी कार्यलाई तीब्र वनाएको ईलाका प्रहरी कार्यालय महुलीका ईञ्चार्ज रमेश वनले जानकारी दिए ।
दिनभरी पशु किन्न भनी गाउँघरमा डुलेर चियोचर्चो गर्ने र रातपरेपछि चोर्ने कार्यमा पशु पैकारहरु नै सक्रिय रहेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। चन्द्र बहादुरको गोरु हराएको दिन पनि केही पशु ब्यपारीहरुले गाऊँबाट जर्सीका बाछाहरु किनेर उनकै गोठ पछाडिको आँपको वगैंचामा बाँधेर राखेका थिए । दिनभरी वगैंचामा बाँधेर बेलुका ट्रकमा लोड गरेर लैजाँदा वाछाहरुसँगै हलगोरु पनि चोरेर लगेको हुन सक्ने संभावना रहेको चन्द्र वहादुरले बताए । ‘हिजोआज गाईवस्तु किन्ने वहानामा नयाँ मान्छेहरु गाऊँ भरी डुल्ने गरेका छन्’उनले भने, आफु घरमा नभएको वेला नचिनेको मान्छेहरु गोठमा आउने र चोर्ने बाटो हेर्ने गरेका छन् ।’
निवेदकको जाहेरी अनुसार प्रहरीले थप अनुसन्धान गरिरहेको हुँदा चोरलाई शीघ्र पक्राउ गरिने ईञ्चार्ज वनले प्रतिवद्धता ब्यक्त गरेका छन् । यसैबीच महुली लगायत आसपासका क्षेत्रमा प्रहरीको गस्ति कडाइकासाथ वढाउने निर्देशन आएको उनले बताए । गाउँघरमा पशु चौपाया लगायत धनमाल चोरीको घटनाहरु वढ्न थालेको जनगुनासो आएपछि प्रहरीको सक्रियता बढाउने निर्देशन आउन थालेको उनको भनाई छ ।