राजविराज, २५ माघ । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष रेणु यादवले महिलामा क्षमता रहे पनि राजनीतिक दलहरुले अवसर नदिएका कारण क्षमता प्रदर्शन गर्न नसकेको बताएकी छिन् ।
अन्तर पार्टी महिला सञ्जाल केन्द्रीय समितिको सहयोगमा जिल्ला सञ्जालद्वारा महिलाको समानुपातिक समावेशी प्रतिनीधित्व विषयक दुई दिने अभिुमुखिकरण कार्यक्रमको मङ्गलवार आयोजित समापन समारोहमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । हरेक निर्णायक आन्दोलनहरुमा महिलाहरुले सशक्त भूमिका निर्वाह गरेको चर्चा गर्दै उनले भनिन् ‘महिलामा क्षमता रहे पनि राजनीतिक दलहरुले अवसर नदिएका कारण क्षमता प्रदर्शन गर्नबाट बञ्चित हुँदैआएका छन् ।’
सञ्जालकी केन्द्रीय सदस्य समेत रहेकी फोरम नेता यादवले संविधानमा रहेको असन्तुष्टि सम्वोधन भईसकेपछि हुने चुनावमा महिलाहरुको स्थान सुनिश्चित गर्न तथा सहभागीता बढाउन राजनीतिक दलहरुले ईमान्दार भएर सहयोग गर्नुपर्नेमा उनले जोड दिईन् । ‘पुरुष मेयर भयो भने उप–मेयरमा महिलाको स्थान सुनिश्चित हुनुपर्दछ’ उनले भनिन् ‘राजनीतिक पार्टीहरुले मेयर महिलालाई राख्ने हो भने सम्पूर्ण पार्टीले महिला उम्मेदवार नै दिए प्रतिष्पर्धाबाट महिला नै चुनिने छ ।’
नेपाली कांग्रेसका नेता समेत रहेकी सञ्जालकी केन्द्रीय सदस्य उमा रेग्मीले हाल ३३ प्रतिशत महिला सुनिश्चितता गरेको बताउँदै ५० प्रतिशत सुनिश्चितता हुनुपर्नेमा जोड दिईन् । हरेक क्षेत्रमा महिला सुनिश्चितता बढाउन सञ्जाल प्रयासरत रहेको बताउँदै उनले भनिन् ‘स्थानीय निकाय निर्वाचनमा महिला सहभागिता बढाउन राजनीतिक दलहरुको सहयोग अपरिहार्य छ, महिलाको समान अवसर तथा सहभागिता भए मात्र समाज र देश विकास सम्भव छ ।’
तराई मधेश लोकतान्त्रिक पार्टीकी केन्द्रीय सदस्य पुष्पा ठाकुरले महिलाहरुले आफ्नो क्षमता बढाउँदै लानुपर्नेमा जोड दिईन् । ‘महिलाहरु बिच एकता हुनु आवश्यक छ, जुनसुकै समस्या परे सञ्जाल अन्तर्गतका महिलाहरु एकअर्कालाई सहयोग गर्नु जरुरी छ’ उनले भनिन् ‘फरक फरक पार्टीमा फरक विचार हुनु स्वाभाविक हो तर एक आपसमा सहयोग एवम् समन्वय आवश्यक छ ।’
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश कुमार यादव, नेकपा केन्द्रका नेता एवम् पूर्व सभासद् असर्फी सदा, साहित्यकार एवम् लेखक करुणा झा, सद्भावना पार्टीका नेता विनोद कुमार यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला सचिव बौवालाल शर्मा, संघीय प्रेस फोरम सप्तरीका अध्यक्ष श्यामसुन्दर यादव, नेकपा एमालेका कार्यालय सचिव डम्बर महतो, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी सहायक निरीक्षक मिन कुमार क्षेत्रीलगायतले मन्तव्य व्यक्त गरे । नव चयनित अध्यक्ष रिता झाको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन सञ्जालकी पूर्व अध्यक्ष गीता यादव तथा स्वागत मन्तव्य सञ्जालकी निवर्तमान अध्यक्ष पूनम यादवले गरिन् । दुई दिने अभिमुखिकरण कार्यक्रममा ५० जना महिलाको सहभागिता रहेको जनाईएको छ ।