जनकपुर, २३ माघ । स्वतन्त्र मधेश गठबंधनका केन्द्रिय संयोजक डा. सीके राउतलाई गत विहीवार पक्राउ लगतैदेखि शुरू भएको शान्तिपूर्ण विरोध जन–प्रदर्शन आइतवार समेत पनि जारी रह्यो ।
कैलाली, बर्दिया, बाँके, कपिलवस्तु, रूपन्देही, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, घनुृषा, सिरहा, सप्तरी, मोरंग र झापाका शहरी तथा ग्रामीण ईलाकाहरूमा प्रदर्शन भएको गठबन्धनका सह–संयोजक कैलाश महतोले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् । शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरिरहेको उनले जनाएका छन् ।
सिरहा जिल्ला अदालत अगाडि शान्तिपूर्ण धर्ना दिईरहेका कार्यकर्ताहरूमाथि प्रहरीले लाठी चार्ज गरी प्रदर्शनकारीहरुलाई पक्राउ गरिएको जनाईएको छ । शान्तिपूर्ण प्रदर्शनका क्रममा शुक्रवार हिरासतमा लिएका रौतहट, हजमिनियाका ६० बर्षिय अशोक सिंह, पचरुखीका ३६ बर्षिय बिरेन्द्र साहलाई अनुसन्धानकालागि प्रहरीले हिरासतमा राखेको गठबन्धनले जनाएको छ ।
यसैगरी सिरहाका सञ्जय यादव, राजकुमार त्यागी, रोशन यादव, अशोक कुमार यादव, रामशंकर यादव, सुरेश यादवलाई अनुसन्धानको नाममा थप ७ दिन थुनामा राखेंको प्रेस विज्ञप्तिमा उल्लेख छ । धर्नामा बसिरहेकाहरु मध्ये आइतवार पक्राउ पर्नेहरूमा सिरहाका विपिन यादव, प्रमोद यादव, अमरनाथ साह, रूकेश साह, अरूण यादव, रामसागर यादव, मदनकृष्ण यादव, करण यादव, रामकरण सिंह, मिथिलेश कापर, चन्द्रदेव यादव र जितेन्द्र यादव रहेको जनाईएको छ । यस अघि सञ्जय यादव, राजकुमार त्यागी सहित ६ जना पक्राउ परेकामध्ये सुरेन्द्र यादवको अवस्था अझै अज्ञात राखिएको गठबन्धनका सह–संयोजक महतोद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।