राजविराज, २३ माघ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले राजविराजमा प्रदर्शन गर्दै स्थानीय निकाय पुनर्संचना आयोगको प्रतिवेदन जलाएका छन् ।
स्थानीय शिव मन्दिर प्राङ्गणबाट निकालिएको जुलुस राजविराज नगरपालिकाको विभिन्न भाग परिक्रमा पश्चात सहिद दशन चौकमा पुगी सभामा परिणत भएको थियो । मोर्चाका नेताहरुले आयोगको प्रतिवेदन विभेदकारी एवम् त्रुटीपूर्ण रहेको भन्दै जलाएका छन् ।
मोर्चाका जिल्ला अध्यक्ष अमरनाथ मण्डलको अध्यक्षतामा आयोजित सभामा सम्वोधन गर्दै संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य अशोक कुमार यादवले स्थानीय निकाय पुनर्संचना आयोगको प्रतिवेदन अनुसार सप्तरीमा ६ नगरपालिका र ६ गाउँपालिकाको संरचना केही नेताहरुले स्वार्थ सिद्धिकालागि मनोमानी ढङ्गले गरेको आरोप लगाए । आयोगको प्रतिवेदन नसच्याएसम्म त्यसलाई स्वीकार गर्न नसकिने बताउँदै उनले भने ‘संरचना मधेशी विरोधी छ, यसलाई यथास्थितिमा हामी स्वीकार्दैनौं ।’
कार्यक्रममा सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झा, तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष रामप्रित यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष सतिश कुमार सिंह, नेपाल सद्भावना पार्टीका जिल्ला अध्यक्ष हरेराम यादव, तराई मधेश सद्भावना पार्टीका जिबछ यादवलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन सद्भावना पार्टीका क्षेत्रीय अध्यक्ष लक्ष्मण यादवले गरे ।