राजविराज । ईच्छा शक्ति भए संसारमा कुनै कार्य असम्भव छैन भने उदाहरणलाई चरितार्थ गर्न लागिपरेका छन् सिरहाको कसहा–९ का युवा प्रमेश्वर ठाकुर । जन्मैदेखि दृष्टिविहीन रहे पनि उनमा साहस र आत्मबलमा भने रत्तिभर कमी छैन । उनी आफ्ना उमेरका साथीसङ्गी जस्तै हरेक काम गर्न अगाडि रहन्छन् ।
मानवीर ठाकुर र चन्द्रवती ठाकुरको कोखबाट संसारमा पाइला टेकेका ठाकुर लहान स्थित पशुपति आदर्श उच्च माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छन् । विद्यालयमा ब्रेल लिपीको सुविधा नरहे पनि उनी अन्य साथीसङ्गी जस्तै कक्षा पढ्ने गर्छन् । कक्षामा शिक्षकले पढाएको कुरा सुनेरै ग्रहण गर्ने गर्छन् । नबुझेका कुराहरु शिक्षकहरुबाट सोधेर सिक्ने गर्छन् ।
भविष्यमा कुश गायक बन्ने सपना साँचेका प्रमेश्वर अध्ययनसँगै दैनिक रियाज गर्दैआएका छन् । दृष्टि गुमाएका उनको गीत सुनेर जो कोही पनि छक्क पर्छन् । हालसम्म आफ्नो गीत रेकर्ड नभए पनि गीत सुनेर स्वर राम्रो रहेको भन्दै प्रशंसा गर्ने गरेको उनले बताए । गरिब परिवारमा जन्मिएका उनी अध्ययन र गायनसँगै सामाजिक क्षेत्रमा समेत रुची राख्ने गर्छन् । हालै मधेशी पत्रकार संघद्वारा आयोजना गरिएको तीन दिने पत्रकारिता तालिममा समेत सहभागी भएका थिए ।
मधेशको पक्षमा कलम चलाउने पत्रकारहरुको संख्या एकदमै न्यून रहेको भन्दै आफ्नो तर्फबाट पनि केही गरुँ भन्ने भावनाकासाथ तालिममा सहभागी भएको बताए । देशमा अहिले पनि मधेशी जनतामाथि विभेद कायम रहेको बताउँदै उनले भने ‘अहिले पनि मधेशीमाथि विभेद कायमै छ, त्यसैले यसलाई अन्त्य गर्नु जरुरी छ ।
समाजमा दृष्टिविहिन एवम् शारिरीक एवम् वौद्धिक असशक्ता भएका व्यक्तिहरुलाई अझ प्रोत्साहन हुनुपर्ने उनको भनाई छ । समाज र साथीहरुबाट पाएको सहयोगले गर्दै आफू प्रोत्साहित भएको बताउँदै उनले भने ‘भविष्यमा मैले कुशल गायक बन्ने सोच राखेको छु, मेहनत पनि गर्दैछु, आँखाको ज्योती नभएर के भो, एक दिन म केही गरेर देखाउँछु ।’