राजविराज, २१ माघ । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजय कुमार गच्छदारले संसदमा पेश गरिएको संशोधन प्रस्ताव त्रुटीपूर्ण रहेको भन्दै अविलम्ब परिमार्जित गरेर पारित गर्नुपर्ने बताएका छन् ।
सप्तरी सदरमुकाम राजविराजमा शुक्रवार आयोजित कार्यकर्ता भेलालाई सम्वोधन गर्दै वहाँले यस्तो कुरा बताएका हुन् । प्रस्ताव परिमार्जन गरी संविधान संशोधन नभएसम्म स्थानीय निकायको निर्वाचन हुन नसक्ने दावी गर्दै उनले भने ‘संसदमा ल्याईएको संशोधन प्रस्ताव अपूर्ण र त्रुटीपूर्ण छ, अविलम्व परिमाजित गर्नुपर्छ, यदी यसो गरिएन भने स्थानीय निकायको निर्वाचनको ढोल पिटेर केही हुनेवाला छैन ।’
हालै गरिएको स्थानीय निकायको पुनर्संरचना गलत रहेको भन्दै फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले तत्काल आयोगको प्रतिवेदन सच्याउनुपर्नेमा जोड दिनुभयो । आयोगको प्रतिवेदन नसच्याएसम्म आफूहरुको पार्टीले स्थानीय निर्वाचन नस्वीकार्ने बताउँदै उनले भने ‘आयोगले प्रतिवेदन नसच्याएसम्म हाम्रो पार्टीले कदापि स्वीकार्दैन ।’
कार्यक्रममा पार्टीका उपाध्यक्ष जितेन्द्रनारायण देव, सांसद डा. सुबोध कुमार पोखरेल, सांसद रमणी राम, केन्द्रीय सदस्य विन्देश्वर साह बिन्दी, नेता शैलेश कुमार चौधरी, महिला नेतृ बिन्दु कुमारी यादव लगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रममा व्यापक जनसमुदायको सहभागिता रहेको थियो ।