राजविराज, २१ माघ । जनतान्त्रिक तराई मुक्ति मोर्चा(क्रान्तिकारी)का अध्यक्ष जयकृष्ण गोइतले राज्य विप्लव मुद्दाको बहानामा डा. सिके राउतलाई पक्राउ गरेर मानव अधिकार उल्लंघन गरेको भन्दै गम्भीर आपत्ति जनाएका छन् ।
गोइतले विहीवारै एक प्रेस विज्ञप्ति जारी गर्दै राउतको पक्राउप्रति प्रतिक्रिया जनाएका हुन् । इतिहासका निर्माता जनता भएको भन्दै सिरहाको लहानमा स्वतन्त्रता पक्षधर जनसागरबाट आतंकित नेपाली शासकले माघ २० गते दिउँसो २.५०मा जनकपुरधाम स्थित आफ्नै निवासबाट ग्रीलढोकाको ताल्चा फुटाएर राउतलाई कथित राज्य विप्लव मुद्दाको बहानामा पक्राउ गरेर मधेशमा नै मानवअधिकार हनन् गरेको विज्ञप्तिमा उल्लेख छ ।
भारत–नेपाल ‘शान्ति एवम् मैत्री सन्धि १९५० को धारा– ८ को आधारमा भारत अधिनस्थ टिस्टादेखि मेचीसम्म र महाकालीदेखि सतलजसम्मको भूभागहरुसहितको ‘वृहत्तर(ग्रेटर) नेपाल’कोे मान्यता राख्दा, आवाज उठाउँदा र संगठित अभियान चलाउँदा नेपालको संविधान र कानून सम्मत हुने र सोही सन्धिको धारा– ८ कै आधारमा मधेशीहरुले नेपाल अधीनस्त मेचीदेखि महाकालीसम्मको तराईको सन्दर्भमा इतिहासले गरेका प्रामाणिक आधारमा मान्यता राख्दा र आवाज उठाउँदा नेपालको संविधान र कानून सम्मत नहुने ? प्रश्न गर्दै विज्ञप्तिमा अगाडि भनिएको छ ‘भारत–नेपाल ‘शांति एवं मैत्री सन्धि १९५० को धारा– ८ को नेपालमा दोहरो मापदण्ड रहेको छ ।’
तराईका मूल निवासी(मधेशी)हरुको ऐतिहासिक आवश्यकता मुक्ति स्वतन्त्रता विरुद्ध नेपाली राज्य सत्ताले तराईका मूल निवासी(मधेशी)हरुको सर्वश्रेष्ठ छोराछोरीहरुको कायरतापूर्ण गैरन्यायिक हत्याको श्रृंखला, गैरकानूनी धडपकड, भूmठा मुद्दामा कारागारमा कोच्ने काम गरिरहेको अध्यक्ष गोइतद्वारा प्रेषित विज्ञप्तिमा जनाईएको छ । नेपाली राज्यसत्ताले तराईका मूल निवासी(मधेशी)हरुको शान्तिपूर्ण राजनैतिक निकासको सबै ढोकाहरु बन्द गरेको आरोप लगाउँदै प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ ‘यो स्थितिमा डा.सी.के.राउतको विना शर्त रिहाई गरेन भने मधेशीको राष्ट्रियता, स्वतन्त्रता र स्वाभिमानको रक्षा तथा आफ्नो र आफ्ना छोराछोरीहरुको बाँच्ने अधिकारका निमित्त प्रतिरोध आन्दोलनको सृष्टि गर्नु बाहेक मधेशीहरुका अगाडि अर्को विकल्प छैन ।’