राजविराज, २१ माघ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश अवधेश कुमार यादवले डा. सिके राउतलाई राज्यले गैरकानूनी पक्राउ गरेको भन्दै तत्काल रिहाईको माग गरेका छन् ।
डा. राउतको पक्राउ विषयमा ‘न्यूज टुडे’सँग प्रतिक्रिया दिँदै उनले यस्तो कुरा बताएका हुन् । गौतम वुद्ध, नेल्सन मण्डेला र महात्मा गाँधीको विचारबाट प्रभावित स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय संयोजक डा. राउतले शान्तिपूर्ण रुपमा मधेश र मधेशी जनताको मुक्तिकालागि आवाज उठाउँदैआएका तर्क दिँदै पूर्व न्यायाधीश यादवले भने ‘कुनै पनि व्यक्तिले आफ्ना असन्तुष्टिलाई शान्तिपूर्ण रुपमा राख्न पाउने कुरा नेपालको संविधानमा समेत उल्लेख छ, यसरी फरक विचार राखेकै कारण पक्राउ गरी राज्य विप्लव मुद्दा चलाईनु घोर निन्दनीय छ ।’
जनकपुर स्थितको डेरामा बालबच्चासहित परिवारजनका साथ बसिरहेको अवस्थामा नेपाल प्रहरीले बिना कुनै जानकारी घरको मुल गेटको ताल्चा फुटाई पक्राउ गरिनुले राज्यको विभेदकारी चरित्र उदाङ्गो गरेको उनको भनाई छ । नेपालका ठूलाठूला नेताहरुलाई गम्भीर अपराधमा पनि कार्वाही गर्न नसक्ने तर शान्तिपूर्ण रुपमा आफ्ना कुरा राखेकै निहुँमा पक्राउ गरी नेपाल सरकारले अन्तर्राष्ट्रिय मानव अधिकार घोषणापत्र पत्रको दफा १९ को समेत पटक–पटक उलंघन गरिरहेको पूर्व न्यायाधीश यादवको प्रतिक्रिया छ । राज्य विरुद्धको अपराध सम्वन्धि मुद्दामा विशेष अदालतले सफाई दिई सकेको अवस्थामा पटक–पटक पक्राउ गर्नुले सरकारको विभेदकारी मानसिकता भएको उनले बताए ।
डा. राउतलाई पक्राउको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था, नागरिक समाज, कानूनव्यवसायी, राजनीतिक दल, वुद्धिजिवी वर्गसमेतलाई जोडदार रुपमा आवाज उठाउन उनले आग्रह गरेका छन् ।