राजविराज, २० माघ । स्वास्थ्य मन्त्रीले प्रतिवद्धता सहित गरेको सम्झौता दुई महिना पुग्दा पनि कार्यान्वयन नभएको भन्दै नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकास कुमार तिवारीले पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
विहीवार गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल परिसरमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । अस्पतालमा व्याप्त समस्याहरुको विषयलाई लिएर तिवारी त्यसको सुधारको माग गर्दै गत मंसिर ८ गतेदेखि २५ गतेसम्म आमरण अनसन बसेका थिए । मंसिर २५ गते स्वास्थ्य मन्त्री गगन कुमार थापा समेतको उपस्थितिमा चार बुँदे सहमती पश्चात तिवारीले अनसन तोडेका थिए ।
विगतदेखि निर्माणाधिन प्रसुती गृहको काम १५ दिनभित्र शुरु गर्ने, अस्पतालमा बालरोग, मुटुरोगलगायत सबै विषयका चिकित्सकको एक महिनाभित्र पद पूर्ती गर्ने, डाइलाइसिस, सर्जरी, डिजिटल एक्स–रे, एनालाइजर लगायतका उपकरण खरिद गरी अस्पताललाई सुविधा सम्पन्न बनाउने र अस्पतालमा भएको अनियमितता भष्टाचार छानबिनकालागि सात दिनभित्र विशेषज्ञको अध्यक्षतामा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमती भएको थियो । तर सहमती भएको दुई महिना हुन लाग्दा समेत कार्यान्वयन नभएको कारण आफु बाध्य भई आन्दोलनमा उत्रनुपर्ने अवस्था आएको पत्रकार सम्मेलनमा तिवारीले सञ्चारकर्मीहरुलाई बताए । ‘माघ मसान्तसम्म हामी पर्खन्छौ’ उनले भने ‘सहमती कार्यान्वयन भएन भने पुनः आन्दोलनमा उत्रनेछौं ।’
सहमती अनुसार विशेषज्ञ डाक्टरको पदपूर्ती हुनुपर्नेमा उल्टै भएका तीन जना डाक्टरको सरुवा हुँदा ती पद समेत रिक्त रहेको अस्पताल श्रोतले जनाएको छ । कुल २२ जना डाक्टरको दरबन्दी रहेको अवस्थामा हाल अस्पतालमा कार्डियो एण्ड डायबिटोलोजिष्ट डा. रञ्जीत झा र स्त्री रोग विशेषज्ञ डा. उषा देव मात्र कार्यरत छन् ।