• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

डा. सिके राउत पक्राउको गठबन्धनद्वारा भत्र्सना(पक्राउको तस्विर हेर्नुहोस्)

डा. सिके राउत पक्राउको गठबन्धनद्वारा भत्र्सना(पक्राउको तस्विर हेर्नुहोस्)

राजविराज, २० माघ । स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय संयोजक वैज्ञानिक डा. सिके राउत धनुषाको जनकपुरधामबाट विहीवार दिउँसो पक्राउ परेका छन् ।
स्वतन्त्र मधेशको माग गर्दै शान्तिपूर्ण आन्दोलन गर्दैआएका उनलाई जनकपुरको पुरानो बसपार्क छेउमा रहेको डेराबाट पक्राउ गरिएको हो । डा. राउत बसेको घरको गेट तथा कोठाको ताला तोडेर करिब एक दर्जनको संख्यामा रहेका प्रहरीले पक्राउ गरेका छन् ।
पत्नी र बच्चाका साथ घरमा रहेको अवस्थामा आफूलाई जबरदस्ती बलपूर्वक प्रहरीले पक्राउ गरेको भनी डा. राउतले पक्राउ पर्ने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका छन् । एक मिडियाकर्मीले उनको कथनको भिडियो लिने क्रममा प्रहरी तानेर भ्यानमा बसाउन लगेको जनाईएको छ ।
सप्तरी घर भएका डा. राउत विगत केही महिनादेखि धनुषाको जनकपुरमा कोठा भाडा लिएर बस्दैआएका थिए । प्रहरीले उनी बसेको घरमा समेत व्यापक रुपमा खानतलासी गरेको स्थानीय प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । डा. राउतमाथि सिरहा प्रहरीले मुद्दा अगाडि बढाएको सञ्चारमाध्यमहरुले जनाएको छ । सिरहा प्रहरीकै आग्रहमा धनुषा प्रहरीले डा. राउतलाई पक्राउ गरी सिरहा पठाएको छ ।
स्वतन्त्र मधेश गठबन्धनले गत माघ ५ गते सिरहाको लहानमा आयोजना गरेको १०औं मधेश बलिदानी दिवसका अवसरमा डा. राउतले प्रमुख वक्ताको रुपमा सम्वोधन गरेका थिए । यस अघि ‘फ्रि मधेस’ लेखिएको प्ले कार्ड बोकेका हज्जारौं स्वराजीहरुले लहानमा बृहत जनप्रदर्शन गरेका थिए । डा. राउतले माघ ५ गते खुल्ला रुपमा देश टुक्र्याउने अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षी दलका नेताहरुले संसदमा समेत जोडदार रुपमा आवाज उठाएका थिए ।
यसैबिच गठबन्धनका सह–संयोजक कैलाश महतोले विहीवारै साँझ प्रेस विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीले आकस्मिक रूपमा घरको मुल गेटको ताल्चा फुटाइ भित्रैबाट डा. राउतलाई राज्यबिप्लको मुद्दामा पक्राउ गरेको छ । नानीहरु र परिवारलाई त्रसित पार्दे दुब्र्यवहार गरेको आरोप लगाउँदै नेपाल सरकारले अन्तर्राष्ट्रीय मानव अधिकार घोषणापत्र पत्रका दफा १९ को बारम्बार उलंघन गरिरहेको प्रेस विज्ञप्तिमा जनाईएको छ ।
सप्तरीको महदेवामा जन्मेका तथा बेलायतको क्यामब्रिज यूनिवर्सिटीबाट पी.एच. डी. गरी अमेरिकामा वैज्ञानिक समेत रही सक्नु भएका डा. सी. के. राउत केही वर्षदेखि स्वतन्त्र मधेश गठबन्धनको केन्द्रिय संयोजक भई शान्तिपूर्ण मार्ग द्वारा मधेशको स्वतन्त्रताका लागि आवाज उठाउँदै आएका छन् । उहाँका ‘मधेश को इतिहास’, ‘मधेश स्वराज’ र ‘वैरागदेखि बचावसम्म (आत्मकथा)’ लगायतका किताबहरू पनि प्रकाशित छन् ।
स्वतन्त्र मधेश गठबन्धन बुद्ध, गांधी र मण्डेलाको अहिंषात्मक सिद्धान्तलाई अनुशरण गर्दै शान्तिपूर्ण मार्गद्वारा मधेशको स्वतन्त्रताको लागि कार्यरत रहेको कुरा विज्ञप्तिमा उल्लेख छ । गठबन्धनका तीन आधार स्तम्भहरू (क) स्वतन्त्र मधेश (ख) लोकतान्त्रिक व्यवस्था, र (ग) शान्तिपूर्ण एवम् अहिंषात्मक मार्ग अनुसार नै आफ्नो नीति निर्धारण र कार्यक्रमहरू गर्दै नेपाल सरकारको कुनै काममा तथा वर्तमान राजनैतिक प्रक्रियाहरूमा वाधा अडचन नपुर्याई शान्तिपूर्ण एवम् संरचनात्मक रूपमा मधेशको विकास तथा सामाजिक उत्थानका लागि गठबन्धन हाल क्रियाशील रहेको जनाईएको छ ।
नेपाल सरकारद्वारा गठबन्धनका नेता तथा कार्यकर्ताहरूको जासूसी गर्ने, आवतजावतमा बाधा उत्पन्न गर्ने, मानसिक दबाव दिने र कुनै आधार तथा प्रमाण विना नै पक्राउ गर्ने जस्ता कार्यहरू गरिरहेको गठबन्धनका सहसंयोजक महतोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाल सरकारद्वारा मानवाधिकारको हनन् भइराखेको जनाउँदै सम्बन्धित व्यक्ति तथा संस्थाहरूले आ(आफ्नो ठाउँबाट नेपाल सरकारका यस्ता क्रियाकलापलाई निरूत्साहित गर्न तथा मानवअधिकारको रक्षा गर्न पहल गरिदिनुहुन सह–संयोजक महतोले आग्रह गरेका छन् ।