चन्दन रौनियार
सुनसरी, १८ माघ । नेपाल पत्रकार महासंघले मधेशी पत्रकारहरुलाई सुनियोजित तरिकाले बिभेद गरेको भन्दै प्रेस मञ्च नेपालले विरोध जनाएको छ ।
मञ्चका अध्यक्ष सन्तोष पटेलले सोमवार एक प्रेस बिज्ञप्ती जारी गर्दै महासंघको शैलीप्रति विरोध जनाएका हुन् । ‘पुर्ण प्रेस स्वतन्त्रता, समावेशी प्रेस जगत एवं मधेसी पत्रकारहरुको आवाज’ भन्ने मुल नाराका साथ कार्य गर्दै आएको प्रेस मञ्च नेपालका अध्यक्ष सन्तोष पटेलले प्रेस बिज्ञप्ती जारी गर्दै सदस्यताको नाममा मधेसी पत्रकारहरुलाई विभेद गरिएको तथा बिभिन्न जिल्लाहरुमा मधेसी पत्रकारहरुलाई सदस्यबाट बञ्चित गरिएको आरोप लगाएका छन् ।
पत्रकार महासंघको चुनाव समावेशी एवं समानुपातिक सिद्धान्तको आधारमा गर्न तथा महासंघको निर्वाचनमा मधेसमा क्रियाशिल सम्पुर्ण मधेसी पत्रकारहरुको संगठनहरु बिच मोर्चाबन्दी गरी निर्वाचनमा होमिन समेत उनले बिज्ञप्ती मार्फत आग्रह गरेका छन् । पत्रकार महासंघको चुनाव अगावै मधेशका जिल्लाहरुमा देखिएको सदस्यता सम्बन्धि विवाद समयमै समाधान गरी सहज बातावरण बनाउन उनले ध्यानाकर्षण गराएका छन् । मधेशमा मधेशी पत्रकारलाई सदस्यताबाट बञ्चित गरे प्रेस मञ्च पत्रकार महासंघको चुनाव बहिष्कार गर्न बाध्य हुने चेतावनी समेत बिज्ञप्ती मार्फत दिएका छन् ।