काठमाडौ, १५ माघ । नेकपा माओवादी, नेपाली कांग्रेसलगायतका दलले सविधान संशोधन गर्न आलटाल गर्दै आईरहेको भन्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आक्रोश व्यक्त गरेको छ ।
तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालय बिजुली बजारमा शनिवार सम्पन्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकले सविधान संशोधन प्रस्ताव संसदमा प्रस्तुत गरिए पनि पारित गराउन आलटाल गरिरहेको निष्कर्ष निकालेको छ ।
पटक–पटक वार्ता गरेर सरकारले मधेशवादी दललाई अल्झाएर राखेको मोर्चाको ठहर छ । बैठक पश्चात पत्रकारहरुसँग कुराकानी गर्दै नेता महेन्द्र राय यादवले आफूहरुको समर्थनमा वर्तमान सरकार गठन भए पनि प्रतिपक्षीको जस्तो व्यवहार प्रस्तुत गरिरहेको बताए । ‘हामीसँग वार्ता हुँदा हामी जस्तो कुरा गर्ने, एमालेसँग कुरा गर्दा एमाले जस्तो कुरा गरेर सरकारले राजनीतिक धु्रवीकरण बढाइरहेको छ ।’ उनले भने ‘हामीहरुसँग कुरा गर्दा सविधान संशोधन प्रस्ताव पारित भए मात्र चुनावको मिति घोषणा हुन्छ, प्रतिपक्षी दल एमालेसँग कुरा गर्दा चुनावको मिति घोषणा हुने छलफल गर्छन्, सरकारले यी दुई फरक कुरा गरेर राजनीतिक उल्झन बढाएको छ ।’
तीन बुँदे सम्झौता अनुसार मधेश आन्दोलनमा घाइते भएकालाई निशुल्क उपचार, मुद्दा लागेकालाई मुद्दा फिर्ता, आन्दोलनको क्रममा पक्राउ परेकालाई रिहाई गर्नुपर्नेमा हालसम्म कार्यान्वयन नगरेको उनको आरोप थियो । माघ २३ गते मधेशका जिल्लाहरुको सदरमुकाममा स्थानीय पुनःसंरचना आयोगले दिएको प्रतिवेदन जलाउने कार्यक्रम तय गरेको उनले जानकारी दिए ।