राजविराज, १४ माघ । स्थापना भएको २२ वर्ष पश्चात सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा आजदेखि ठूलो क्षमताको मिलन डेरी उद्योग सञ्चालन भएको छ ।
भारत सरकारको सहयोगमा निर्माण भई २०५१ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको उक्त औद्योगिक क्षेत्रमा मिलन डेरी एण्ड फूड इन्डष्ट्रिज प्रा.लि. करिब पाँच करोडको लगानीमा उद्योग सञ्चालनमा ल्याएको हो । राष्ट्रिय दुग्ध विकास वोर्डका कार्यकारी निर्देशक कैलाश प्रसाद ढुङ्गेलले एक समारोहका बीच उद्योगको उद्घाटन गरेका छन् । 
कार्यक्रममा मिलन डेरी एण्ड फूड इन्डष्ट्रिज प्रा.लि.का प्रोप्राइटर राघो प्रसाद सिंहका अनुसार नेपालकै सबभन्दा ठूलो दही प्लान्ट समेत सञ्चालनमा आएको उक्त उद्योगबाट दुध, दही, पनिर, घ्यू, आइसक्रिम, खोवा, पाउँरोटी, कुकिज, केकलगायतका उत्पादन हुनेछ । ‘गोठदेखि ओठसम्म’को नाराका साथ सञ्चालित उद्योगबाट उत्पादित सामग्रीहरु सप्तरी, सिरहा, धनुषा, सुनसरी, सिन्धुली, मोरङ्ग, झापा र उदयपुर जिल्लासम्म पुर्याउने लक्ष्य रहेको उनले बताए ।
दुग्ध पदार्थको गुणस्तरीयता र सुरक्षित बनाउने उद्देश्यले अटोमेटिक प्लान्ट स्थापना गरी सेवा प्रारम्भ गरिएको प्रोप्राइटर सिंहले जानकारी दिँदै प्रोप्राइटर सिंहले दुधमा पाइने खनिज, भिटामिन, प्रोटिन, ल्याक्टोज फ्याट जस्ता सुरक्षित रहने गरी अत्याधुनिक प्रविधि प्रशोधन गरी सर्वसुलभ मूल्यमा दुग्ध पदार्थ उपलब्ध गराउने आफुहरुको लक्ष्य रहेको बताए । खुल्ला रुपमा विक्री वितरण हुने दूधमा फ्याटको मात्रा नपुग्ने, पानीको मिसावट हुने, रसायनिक पदार्थ समेत हुन सक्ने भएकोले आम उपभोक्ताको स्वास्थ्यमा पर्नसक्ने नकारात्मक असरप्रति सचेत रहँदै उत्केष्ट सर्वगुणी उत्पादनमा कटिवद्ध रहने प्रोप्राइटर सिंहले कार्यक्रममा जानकारी दिए । 
कार्यक्रममा डेरी उद्योग एसोसिएसनका केन्द्रीय अध्यक्ष सुमित केडिया, स्थानीय विकास अधिकारी सुदेव पोखरेल, डेरी एसोसिएसनका प्रथम उपाध्यक्ष राधाकृष्ण सापकोटा, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रका प्रमुख सञ्जय थापा, नागरिक समाजका कार्यवाहक अध्यक्ष थानसिंह भन्साली, कमलेश सिंहलगायतले शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रममा स्वागत मन्तव्य प्रा.लि. व्यवस्थापक मिलन सिंह तथा सञ्चालन मनोहर कुमार पोखरेलले गरे ।उद्योगी सिंहले यस अघि २०६३ सालदेखि राजविराजमा मिलन डेरी उद्योग सञ्चालन हुँदैआएको थियो । 