
राजविराज, १३ माघ । सप्तरीको फकिरा गाउँ विकास समितिको वडा नम्वर–५ कि एक भाउजुलाई १० वर्षिय देवरको हत्या सम्वन्धि मुद्दामा अदालतले सर्वस्वसहित जन्मकैद सजाय सुनाएको छ ।
राजविराज नगरपालिकाको वडा नम्वर–५ मा बस्दैआएकी २२ वर्षिया सञ्जीला देवी साहले आफ्नै १० वर्षिय देवर प्रमोदकुमार साहको गत वैशाख २७ गते हत्या गरेकी थिइन् । कर्तव्य ज्यान मुद्दामा सप्तरी जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको हो ।
जिल्ला अदालतका न्यायाधीश शङ्करबहादुर राईको इजलाशले बालक हत्यामा कसुर ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको सप्तरी जिल्ला अदालतले जनाएको छ । बालक प्रमोदलाई आरोपितले कुटपिट गरी गत वैशाख २७ गते राति हत्या गरेर घरदेखि ६ सय मिटर दक्षिण राजविराज नगरपालिका–६ स्थित ढल नालाको पुलचोक कल्भर्टमा शव फेला परेको थियो ।
घाँटीमा चोट पटकको दाग भएको अवस्थामा वैशाख २८ गते पीडितको लाश फेला परेपछि अनुसन्धानका क्रममा प्रहरीले सञ्जिलालाई वैशाख २९ गते पक्राउ गरी मुद्दा अघि बढाएको थियो । मृतकका ४० वर्षीय बुवा उमेशकुमार साहले आरोपितमाथि शङ्का गर्दै वैशाख २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । सप्तरी जिल्ला अदालतको आदेशले आरोपित सञ्जीलालाई पुर्पक्षकालागि जेठ २४ गतेदेखि राजविराज कारागारमा राखिएको थियो ।