काठमाडौ, १० माघ । सिंचाई मन्त्री दिपक गिरीले समृद्ध तराई मधेश सिंचाई विकास विशेष कार्यक्रम कार्यान्वयनमा ढिलाई गरेको भन्दै पूर्व सिचाई मन्त्री उमेश कुमार यादवले आक्रोश व्यक्त गरेका छन् ।
माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य सदस्य समेत रहेका पूर्वमन्त्री यादवले सोमवार एक विज्ञप्ति जारी गर्दै वर्तमान सिंचाई मन्त्री गिरीको शैलीप्रति आक्रोश व्यक्त गरेका हुन् । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही र कपिलवस्तु जिल्लामा समृद्ध तराई मधेश सिंचाई विकास विशेष कार्यक्रम कार्यक्रमको वजेट स्वीकृत हुँदा पनि कार्यान्वयनमा ल्याउन मन्त्री गिरीले आलटाल गर्दैआएको आरोप लगाएका छन् । सिचाई मन्त्रालय काँग्रेसको भागमा परेको छ ।
माओवादी नेता यादव मन्त्री भएको बेला मधेशका ११ जिल्लालाई लक्षित गरी समृद्ध तराई मधेश सिंचाई विकास विशेष कार्यक्रम ल्याएका थिए । मधेश केन्द्रित उक्त कार्यक्रमलाई ओझेलमा पार्नकालागि समयमा अख्तियारी नपठाउनु, कार्यक्रम मधेश लक्षित भएपनि त्यसको कार्यालय मधेशमा स्थापना गर्न नचाहनु, मौखिक आदेशमा कार्यक्रममा रोक लगाउने जस्ता कार्य मन्त्री गिरीले गरेको भन्दै पूर्व मन्त्री यादवले विज्ञप्तिमार्फत आरोप लगाएका छन् ।
मधेशका ११ जिल्लालाई लक्षित गरिएको सो कार्यक्रम मन्त्री गिरीले सोही बजेटमा मधेशको २२ वटै जिल्लामा शुरु गर्न लागेको बताउँदै भनी किसानमाथि विश्वासघात गरेको आरोप लगाएका छन् । २२ वटै जिल्लामा कार्यक्रम लग्नु राम्रो हो तर त्यसको अनुसारको बजेट पनि दिनुपर्यो भन्दै पूर्वमन्त्री यादवले बजेटको व्यवस्था गरेर मात्र कार्यक्रम विस्तार गर्न माग गर्दै विज्ञप्तिमा भनिएको छ ‘कुनै न कुनै बहानामा यस कार्यक्रमलाई रोक्ने रणनीतिमा मन्त्री गिरी लागि परेको छ । यस विषयमा माघ ७ गते संसदमा समेत पूर्व सिंचाई मन्त्री यादवले जोडदार रुपमा कुरा उठाएका छन् । नेपाली काँग्रेसको मधेश विरोधी चरित्रका कारणले नै मधेशको कार्यक्रमलाई ओझेलमा पार्न खोजेको उनको आरोप छ । कार्यक्रम संशोधनको नाममा कार्यक्रमलाई प्रभावकारी हुन नदिने र विचमै समाप्त पार्न खोजेको पूर्व सिंचाई मन्त्रीको आरोप छ ।