राजविराज, १० माघ । मधेश आन्दोलनको प्रणेता नेपाल सद्भावना पार्टीका संस्थापक स्व. गजेन्द्र नारायण सिंहको १५औं वार्षिक पुण्यतिथिको अवसरमा पार्टीको केन्द्रीय कार्यालय काठमाण्डौमा सोमवार गजेन्द्र स्मृति श्रद्धाञ्जली कार्यक्रम आयोजना गरियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष अनिल कुमार झाले स्व. सिंहले अघि सारेको एजेण्डामै देश केन्द्रीत रहेको बताए । पहिचान, पहँच, प्रदेश र प्राकृतिक श्रोतमा सबै शोषित, पीडित र उपेक्षित जनताको न्यायोचित अधिकार स्थापित गराउन गजेन्द्र बाबुको योगदान अविस्मरणीय रहने बताए । संविधान संसोधन गरेर मधेश आन्दोलनको एजेण्डालाई सम्बोधन गरी देशलाई शान्ति, स्थिरता र विकासको बाटोमा अगाडी बढाउन सरोकारवाला सबैलाई सचेत र सम्बेदनशिल हुन उनले आग्रह गरे ।
पार्टीका जिल्ला अध्यक्ष दिपक कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई पार्टीका महासचिव राजीव झा, कोषाध्यक्ष मो. सावीर खान, सांसद तथा प्रवक्ता मा. डा. डिम्पल कुमारी झा, केन्द्रीय सदस्य काजीमान लोप्चन, उपत्यका समितिका अध्यक्ष महेन्द्र आनन्द, नेपाल आदीवासी जनजाति उत्थान मंचका अध्यक्ष तामांग, नेपाल महिला मञ्चका केन्द्रीय अध्यक्ष उर्मिला पाण्डेय, मञ्चकै उपत्यका अध्यक्ष ललीता देवी लगायतका बक्ताहरुले गजेन्द्र बाबुको नेतृत्व र कृतित्वका बारेमा चर्चा गरे । कार्यक्रम सञ्चालन सह–महासचिव निरन्जन पौडेलले सञ्चालन गरेको पार्टीकी प्रवक्ता सांसद डिम्पल कुमारी झाद्वारा प्रेषित विज्ञप्तिमा जनाईएको छ । पार्टीले झापा, मोरंग, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलबस्तु, बाँके, बर्दिया र कैलाली जिल्ला कार्य समितिहरुले समेत ‘गजेन्द्र स्मृति श्रद्धाञ्जली कार्यक्रम’को आयोजना गरेको जनाईएको छ ।