• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मधेश आन्दोलनका प्रणेता सिंहको १५औं पुण्यतिथि मनाईयो

मधेश आन्दोलनका प्रणेता सिंहको १५औं पुण्यतिथि मनाईयो

राजविराज, १० माघ । मधेश आन्दोलनका मसिहा स्व. गजेन्द्र नारायण सिंहको १५ औं पुण्यतिथि राजविराजमा सोमवार एक कार्यक्रम आयोजना गरी मनाईएको छ ।

सद्भावना पार्टी सप्तरीले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथी स्व. सिंहका सहकर्मी गुणानन्द चौधरीले मधेशलाई अधिकार दिलाउन सक्दा मात्रै मधेशवादका प्रणेता स्वर्गीय गजेन्द्र नारायण सिंहप्रति सच्चा श्रद्धाञ्जली हुने बताए । कार्यक्रमका मधेशीलाई अधिकारसम्पन्न बनाउनुपर्छ भन्ने माग स्व. सिंहले नै उठाएको बताउँदै उनले हालसम्म पनि पुरा नहुनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे । स्व. सिंहले नै पहिलो पटक उठाएको बताउँदै संविधानमा पनि त्यसलाई संशोधन गरी मधेशको असन्तुष्टि सम्वोधन हुनुपर्ने प्रमुख अतिथि चौधरीले जोड दिए ।
सद्भावना पार्टीका केन्द्रीय सदस्य सिताराम मण्डलले मधेशलाई अधिकारसम्पन्न भएको हेर्न चाहेको बताउँदै अधिकारप्राप्तिकालागि हालसम्म आन्दोलन गर्नुपर्ने अवस्था रहेको बताए । सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनिलकुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य दिपेन्द्रकुमार चौधरीले देशमा सघीयताको कुरा उठाउने पहिलो नेता स्व. सिंह नै भएको बताउँदै अधिकारप्राप्ति नभएसम्म आन्दोलन जारी राख्नुपर्ने बताए ।
कार्यक्रममा पत्रकार सन्तोष कुमार चौधरी, राष्ट्रिय मधेश समाजवादीका केन्द्रीय सचिव गजेन्द्र कुमार मण्डल, सद्भावना पार्टीका केन्द्रीय सदस्य पुनम यादव, मधेशी मोर्चाका जिल्ला संयोजक अमरनाथ मण्डल, विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोरकुमार यादव, नेपाल निजामति कर्मचारी युनियनका जिल्ला अध्यक्ष अजयकुमार झा, वरिष्ठ पत्रकार अनिलकुमार अनल, पत्रकार महासंघ शाखा सप्तरीका कार्यवाहक अध्यक्ष श्रवण कुमार देव, सद्भावना पार्टीका भागवत मण्डल, गुड्डु सिंह, लक्ष्मण यादव, तराई मधेश सद्भावना पार्टीका नेता कपिलदेव यादव लगायतले मन्तव्य व्यक्त गरे । पार्टीका जिल्ला अध्यक्ष सुनिलकुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रमकाृ सञ्चालन जिल्ला सचिव हरेराम यादवले गरे ।
यसैगरी सोमवारै राजविराज स्थित स्व. सिंहको शालिकमा माल्यार्पण गरिएको छ । स्व. सिंहको सप्तरी सेवा आश्रम स्थित समाधिमा नेताहरुद्वारा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरिएको जनाईएको छ ।
सद्भावना पार्टीका संस्थापक राष्ट्रिय अध्यक्ष सिंहको १५ वर्षअघि माघ १० गते नै निधन भएको हो ।