• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

एकै परिवारका पाँच जना दृष्टिबिहीनलाई भद्रगोल र जिगरीको सहयोग

एकै परिवारका पाँच जना दृष्टिबिहीनलाई भद्रगोल र जिगरीको सहयोग

राजविराज, ६ माघ । सप्तरीको गम्हरिया प्रवाहा गाविसमा एकै परिवारका पाँच जना दृष्टिबिहीनलाई हाँस्य टेलिश्रृङ्खला भद्रगोल र जिगरी पाँडे प्रतिष्ठानको टोलीद्वारा सहयोग गरिएको छ ।
सप्तरी युथ नेपालको समन्वयमा उक्त टोलीद्वारा ती परिवारलाई एक सय किलो चामल, १० किलो आलु, १० किलो प्याज, १० लिटर खाने तेल, चार वटा हर्लिक्स, एक बोरा भुजा, एक बोरा च्यूरा, तीन किलो चिनी, एक दर्जन नुहाउने र लुगा धुने साबुन ती परिवारलाई बिहीबार हस्तान्तरण गरिएको छ । यस्तै पाँच जना दृष्टिबिहीनका साथै उनको परिवारका १७ जनालाई न्यानो कपडा बितरण गरिएको छ । न्यानो कपडामा पुरुषका लागि तल र माथिको ट्रयाक सुट र महिलाका लागि स्वीटर प्रदान गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष कुमार कट्टेलसहितका पदाधिकारी तथा युवा अभियन्ता रमेश प्रसादको सहयोगमा सप्तरी युथ नेपालको समन्वयमा उनीहरुलाई सामग्री बितरण गरिएको हो । कट्टेल, साहसहित सप्तरी युथ नेपालका उपाध्यक्ष मोहन यादव, बिष्णु यादव, अमर यादवसहितका पदाधिकारीहरु मिलेर विहीबार उनीहरुलाई राहत स्वरुप यी सामग्रीहरु प्रदान गरिएको छ ।
यसैबीच टेलिश्रृङ्खला भद्रगोल एवं जिगरी पाँडे प्रतिष्ठानले दृष्टिबिहीन परिवारलाई घर बनाइदिने घोषणा गरेको छ । सप्तरी युथ नेपालको समन्वयमा उनीहरुलाई तीन कोठे घर बनाइदिने प्रतिष्ठानका अध्यक्ष कुमार कट्टेल ‘जिगरी’ ले जानकारी दिए ।
सप्तरीको गम्हरिया प्रवाहा गाविस ४ का शम्भु मण्डल, उनका भाई ४५ बर्षीय शिबनारायण मण्डल, उनीहरुकी ४१ बर्षीया जयकला, शिबनारायणकी पत्नी ४० बर्षीया गीतादेवी र जयकलाको एक छोरा पनि दृष्टिबिहीन छन् ।