• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

उप–प्रधानमन्त्री निधीले भने ‘एमाले चिच्याउँदै गर्छ, दुई तिहाइबाट संविधान संशोधन हुन्छ’

उप–प्रधानमन्त्री निधीले भने ‘एमाले चिच्याउँदै गर्छ, दुई तिहाइबाट संविधान संशोधन हुन्छ’

राजविराज, ६ माघ । उप–प्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले संविधान संशोधन प्रस्ताव राष्ट्रहित, संघीयता र गणतन्त्रवादी प्रस्ताव भएको भन्दै दुई तिहाई बहुमतबाट पारित हुने दावी गरेका छन् ।
नेपाली कांग्रेस क्षेत्रीय समिति सप्तरीले नर्घो गाविस स्थित झहुरा चौकमा विहीवार आयोजित विशाल जनसभालाई सम्बोधन गर्नुहुँदै वहाँले यस्तो दावी गरेका हुन् । संशोधन प्रस्तावको विरोधमा नेकपा एमाले रहे पनि संशोधन प्रस्तावलाई पारित गरेर देशलाई निकास दिने उप–प्रधानमन्त्री निधीले बताए । मधेशीलाई दिईने अधिकार पनि नेपालीले नै पाएको अधिकार हो भन्ने कुरा एमालेले वुझ्न नसकेको भन्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहेका निधीले यस्तो चरित्रवाट एमाले मधेश विरोधी कित्तामा पुग्ने दावी गरे ।
‘संविधान संशोधन मार्फत मधेशको माग पुरा गर्न खोज्दा एमाले राष्ट्रघाति काम भएको आरोप लगाउँछ, यस्तो चरित्रले उसलाई मधेशीको मित्र शक्ति कसरी मान्न सकिएला ?’ भनी प्रश्न गर्दै उनले भने ‘संविधान संशोधनवाट मधेशलाई विगतको संविधानमा भए सरह अधिकार दिलाउन खोज्दा कहाँनेर राष्ट्रघात भयो ? उनले संशोधनले मधेशी, आदिवासी, जनजाति, दलित, मुस्लिम, महिला लगायत अल्पसंख्यक समुदायको अधिकारको सुनिश्चितता हुने भएकोले यो राष्ट्र हितमा भएको बताए ।
मधेशी लगायत पछाडि पारिएका समुदायले अधिकार पाउनुलाई राष्ट्रघाती भनेर परिभाषित गर्नु गलत भएको बताउँदै उप–प्रधान तथा गृहमन्त्री निधीले हिमाल, पहाड र मधेशको कुनै पनि भु–भागमा बस्ने नेपाली भएको प्रष्ट पारे । मधेशी जनता राष्ट्रभक्त भएको बताउँदै नेपाली काँग्रेसका समेत रहेका नेता निधीले मधेशीको राष्ट्रियतामाथि प्रश्न गर्नेहरुसँग सचेत रहन आह्वान गरे । जनतालाई अधिकार दिनु लोकतन्त्रको गहना भएको प्रष्ट्याउँदै उनले संविधान संशोधनमा काहाँनिर राष्ट्रघात भएको हो त्यसलाई प्रमाणीत गर्न एमालेलाई चुनौती समेत दिए ।
सिमांकन, नागरिकता, भाषा, राष्ट्रिय सभामा प्रतिनिधित्व लगायतका विषयमा केही नमिलेका कुराहरुलाई संशोधन मार्फत सच्याएर मधेशको असन्तुष्टि संवोधन गर्नुको विकल्प नरहेको भन्दै उपप्रधानमन्त्री निधिले वर्तमान सरकारले नै त्यसलाई पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।
देशमा आएको ऐतिहासिक परिवर्तनले गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समावेशिता र मिश्रीत निर्वाचन प्रणालीको ग्यारेण्टी गरेको बताउँदै संविधान संशोधन भएमात्र ती आधारभूत विषयहरुको सुनिश्चितता हुने प्रष्ट पारे । संविधान कार्यान्वयनकालागि तीन वटै निर्वाचन गराउन सरकार प्रतिवद्ध रहेको भन्दै एमालेले जति चिच्याएपनि त्यसअघि नै संविधान संशोधन गरेरै छाड्ने वताए । कांग्रेस नेता निधीले भने –‘एमाले चिच्याउँदै गर्छ, संविधान संशोधन हुन्छ–हुन्छ–हुन्छ ।’
नेपाली कांग्रेस क्षेत्र नम्वर– ४ का सभापति रामप्रसाद मण्डलको सभापतित्वमा आयोजित सभालाई कांग्रेसका केन्द्रीय सदस्य फरमुल्ला मन्सुर, केन्द्रीय सदस्य लक्ष्मी परियार, सांसद एवम् केन्द्रीय नेता महेन्द्र यादव, सिरहाका सांसद पदमनारायण चौधरी, सप्तरीका सांसदहरु सुरेन्द्र प्रसाद यादव, सकलदेव सुतिहार, रञ्जित कर्ण, नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश कुमार यादव, जिल्ला सचिव रामकुमार यादवसहित ६ वटै निर्वाचन क्षेत्रका पार्टी सभापतिहरुले समेत सम्वोधन गरे ।
सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेकाहरुलाई कांग्रेस नेता निधीले फूलको माला र टिका लगाएर स्वागत गरेका छन् ।