सिरहा, ६ माघ । स्वतन्त्र मधेश गठबन्धनले १०औं मधेश बलिदानी दिवस बुधवार सिरहाको लहानमा विशाल जनप्रदर्शनसहित भव्यताकासाथ मनाएका छन् ।
‘फ्रि मधेस’ लेखिएको प्ले कार्ड बोकेका हज्जारौं स्वराजीहरुले लहानमा बृहत जनप्रदर्शन गरेका हुन् । गठबन्धनका संयोजक डा. सिके राउतले लहान स्थित सहिद स्मारकमा माल्यापर्ण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । तत्पश्चात लहान बजारमा गठबन्धनका कार्यकर्ताहरुले मार्च पास गर्दै गठबन्धनका युवा दस्ताले डा.राउतलाई कार्यक्रम स्थल पशुपति उच्च माध्यमिक विद्यालयको मैदानसम्म लगेका थिए । गठबन्धनको शक्ति प्रदर्शनका क्रममा सुरक्षाकर्मीको उपस्थिति देखिए पनि उनीहरुले अवरोध नपुर्याएको जनाईएको छ ।
कार्यक्रममा सम्वोधन गर्दै गठबन्धनका संयोजक डा.राउतले शाहिदहरूको सपना सच्चिकै पूरा भयो त ? भनेर जनमानससँग प्रश्न गर्दै मन्तव्य थालेका थिए । मधेशका हरेक तप्कालाई आजादी चाहिएको भन्दै यसकालागि आ–आफ्नो स्थानबाट जुट्न उनले आह्वान गरे ।
कार्यक्रममा गठबन्धनका सह–संयोजक कैलाश महतोले सम्बोधन गर्दै मधेश आजाद नभएसम्म मधेशी जनताको मुक्ति नहुने उद्घोष गरे ।
गठबन्धनको कार्यक्रम स्थलभन्दा केही मिटर पर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले पनि कार्यक्रमको आयोजना गरेका थिए यद्यपी मोर्चाका अधिकांश कार्यकर्ताहरु गठबन्धनको कार्यक्रममा सहभागी भएका थिए ।
दश वर्षअघि पहिलो मधेश आन्दोलनको क्रममा लहानमा रमेश महतोलगायतका युवाहरुले सहादत दिएका थिए । महतो पहिलो मधेश आन्दोलनका पहिलो सहिद हुन् । सहिदहरुको सम्झनामा माघ ५ गते मधेशमा भव्यताकासाथ मधेश बलिदानी दिवस मनाइदै आइएको छ ।
शुरुमा स्थानीय प्रशासनले गठबन्धनको कार्यक्रममा अवरोध पुर्याउने प्रयासमा रहे पनि हज्जारौं जनमानसको सहभागिताका कारण विफल भएको थियो । कार्यक्रममा सहभागी हुन सुनसरी, सप्तरी, सिरहा, महोत्तरी, धनुषालगायतका जिल्लाहरुबाट स्वराजीहरु सहभागी भएका थिए । प्रहरीले यस अघिका कार्यक्रमहरुमा अवरोध पुर्याउँदै आएको थिए ।
भिडियो हेर्नुहोस्