राजविराज, ०४ माघ । सप्तरीका सांसदहरुले स्थानीय निकाय पुनर्संरचना प्रतिवेदन अवैज्ञानिक एवम् अव्यवहारिक भएको भन्दै तत्काल सच्याउन माग गरेका छन् ।
प्रेस सेन्टर नेपालले मङ्गलवार राजविराज स्थित नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनीहरुले यस्तो माग गरेका हुन् । स्थानीय निकाय पुनर्संरचना अव्यवहारिक, अवैज्ञानिक र स्थानीयको भावना विपरीत रहेको भन्दै यसलाई तत्काल सच्याउन माग गरेका छन् । सप्तरी जिल्ला देशमै सर्वाधिक गाउँ विकास समिति भएको जिल्ला भएको भन्दै सांसदहरु ६ गाउँपालिका र ६ नगरपालिकाको पुनर्संरचना विभेदकारी मानसिकताबाट ग्रसित रहेको बताए ।
पत्रकार सम्मेलनमा सप्तरी निर्वाचन क्षेत्र नम्वर २ का सांसद एवम् माओवादी केन्द्रका पोलिटब्युरो सदस्य अशोक कुमार मण्डलले पुनर्संरचना आयोगले स्थलगत रुपमा छलफलै नगरी प्रतिवेदन वुझाएको कारणले थप समस्याको बीजारोपन गरेको बताए उनले भने ‘काठमाण्डौंको इन्द्रेणी होटलमा वसेर आयोगले संरचनाको खाका कोरेको छ, सप्तरीको संरचना राजधानीमा बसेर होइन, यही आएर स्थानीयस्तरका विज्ञहरुसँग छलफल गरी ल्याउनुपर्दछ ।
स्थानीय निकायको पुनर्संरचनामा जनसंख्याको आधारमा नभएको भन्दै यसले समावेशी र समानुपातिक भावना समेत समेटन नसकेको आरोप लगाए । उनले भने ‘हामीले सुनेका थियौ, १७ इलाकालाई १७ गाउँपालिका बनाउनेछ भनेर तर परिणाम भने हचुवाको भरमा ६ गाउँपालिका र ६ नगरपालिकाको आएको छ, यस्तो संरचनालाई आ–आफ्नो स्तरबाट विरोध हुनुपर्दछ ।’ आफूहरुले यस विषयमा पार्टीलाई समेत जानकारी गराएको तथा संसदमा समेत सशक्त आवाज उठाउने सांसद मण्डलले प्रतिवद्धता व्यक्त गरे ।
पत्रकार सम्मेलनमा अर्का पोलिटब्यूरो सदस्य तथा निर्वाचन क्षेत्र नं. १ का सांसद मानपुर चौधरीले सप्तरीमा छलफलको वातावरण नभएको भनी अनावश्यक बहाना बनाएर आयोगले काठमाण्डौमै बसेर गरिएको स्थानीय निकाय पुनर्संरचना कुनै पनि शर्तमा मान्य नहुने बताए । सवैभन्दा बढी गाविस भएको सप्तरीलाई अहिलेको संरचनामा गाउँपालिका र नगरपालिकाको संख्या पनि कम वनाएर प्रस्तुत गरेको उनले टिप्पणी गरे । स्थानीय निकाय पुनर्संरचनाको खाका नसच्याईए सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिए ।
प्रेस सेन्टर सप्तरीका अध्यक्ष गोपाल प्रसाद गुप्ताको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका पोलिटव्यूरो सदस्य महेश यादव, केन्द्रीय नेता देवनाथ यादव, जयप्रकाश यादव लगायतले स्थानीय निकाय पुनर्संचना अविलम्ब सच्याउनुपर्नेमा जोड दिए ।