राजविराज, २९ पुस । राजविराज नगरपालिकाको २०औं नगर परिषद्को बजेट नीति तथा कार्यक्रम शुक्रवार एक समारोहका बीच सार्वजनिक गरिएको छ ।
नगर सभा हलमा आयोजित समारोहका बिच नगरपालिकाका प्रमुख एवम् कार्यकारी अधिकृत धिरेन्द्र कुमार यादवले बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । उनले आगामी आर्थिक वर्ष १४ करोड २७ लाख ८४ हजार ६ सय रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । जसमध्ये प्रशासनिक चालु अनुदानतर्फ २ करोड २५ लाख ६० हजार ७ सय २ रुपैयाँ, नेपाल सरकारको तर्फबाट ६ करोड १६ लाख ८ हजार र वाह्यतर्फबाट ५ करोड ५१ लाख ५१ हजार ८ सय ९८ रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।
चालुतर्फ ५ करोड ९५ लाख ४ हजार, कुल पुँजीगत तथा वाह्य श्रोततर्फ ८ करोड ३२ लाख ८० हजार ६ सय रहेको छ । यसैगरी कुल पुँजीगत खर्चमध्ये आर्थिक, सामाजिक र भौतिक पुर्वाधार विकास तथा प्रवद्र्धनात्मक विकास कार्यक्रम खर्च ७ करोड ६९ हजार ६ सय तथा लक्षितवर्ग कार्यक्रमतर्फ ६३ लाख ७९ हजार ६ सय गरी कुल १४ करोड २७ लाख ८४ हजार ६ सय हुन आएको कार्यकारी अधिकृत यादवले जानकारी दिएका छन् । यसैगरी आर्थिक वर्ष २०७३÷७४ को कुल १५ करोड १६ लाख ८४ हजार ६ सय रुपैयाँको आय–व्यय समेत प्रस्तुत गरे ।
साँस्कृतिक संग्रहालय तथा नाच घर, शौचालय, खानेपानी, नालासहितको पक्की सडक निर्माण, काञ्जी हाउस, फोहोर मैला व्यवस्थापन, वडा कार्यालय तथा सामुदायिक स्तरको भवन निर्माण, पार्क निर्माण, सोलार वत्ती निर्माणलगायतका कामहरुलाई प्राथमिकतामा राखिएको उनले बताए । नगरपालिकाको मुख्य सडकलाई रोलिङ्ग र सडक पेटीसहितको नमूना सडकको रुपमा विकास गर्ने, वन सिटी वन कलर अन्तर्गत पहिलो चरणमा मुख्य सडकका घर तथा पसलहरुका गुलाबी रङ्गले रङ्गाइने, नगर क्षेत्रका सडकहरुको स्तरोन्नती, मर्मत सुधार, नगरको सौन्दर्य समेतलाई प्रतिकुल असर पार्ने गरी नगरका सार्वजनिक पर्ती जग्गापोखरी किनाराका क्षेत्र एवम् सडक मापदण्ड समेत अतिक्रमण गरी बनाईएका अनाधिकृत घर, टहरालगायतका संरचनाहरु हटाउन पहल गर्ने जनाईएको छ । 
सडक निर्माण गर्दा वातावरण मैत्री बनाउन सडकको दायाँ–बायाँ बृक्षारोपण कार्यलाई प्रोत्साहन गरिने, २५ प्रतिशत शौर्य उर्जा जडान जडान गर्दै ‘हाम्रो शहर उज्जयालो नगर’लाई साकार बनाउन विशेष अभियान सञ्चालन गर्ने, नगरपालिका क्षेत्रमा चिडियाखाना, सांस्कृतिक संग्रहालय तथा नाच घर निर्माणकालागि विस्तृत परियोजना प्रतिवेदन तथा अध्ययन अनुसन्धान कार्यलाई अगाडि बढाईने, जनसहभागिता ५० प्रतिशत भन्दा बढी हुने उच्च प्राथमिकताका आयोजनाहरुलाई माग भएकै बखत स्वीकृत गर्ने नीति अवलम्वन गरिने कार्यक्रममा जानकारी दिईएको छ । प्लाष्टिक मुक्त, बालश्रम मुक्त तथा गुलाबी शहरको रुपमा विकास गर्नुका साथै भौतिक पूर्वाधार, सौन्दर्य व्यवस्थापन लगायतका कामहरुलाई बजेटमा प्राथमिकता दिईएको छ ।
कार्यकारी अधिकृत यादवको अध्यक्षतामा आयोजित समारोहको उद्घाटन नगरपालिकाका पूर्व मेयरद्वय गोविन्द सिंह र शैलेश कुमार चौधरीले गरेका छन् । सोही कार्यक्रममा नगरपालिकाका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ ।
कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, नेपाली कांग्रेस सप्तरीका सभापति दिनेश यादव, नेकपा एमालेका गोविन्द न्यौपाने, नागरिक समाजका कार्यवाहक अध्यक्ष थानसिंह भन्साली, नागरिक सञ्जालका संस्थापक अध्यक्ष सुखराम यादवलगायतले शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रममा स्वागत मन्तव्य नगरपालिका कर्मचारी एसोसिएसनका अध्यक्ष उमेश कुमार यादव तथा सञ्चालन सामाजिक अधिकृत प्रफुल्ल श्रेष्ठले गरे ।