राजविराज, २८ पुस । वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले पुरानो दरवार र कम्युनिष्टहरुले संघीयता र गणतन्त्रलाई समाप्त पार्ने षडयन्त्रमा लागेको बताएका छन् ।
राजविराज स्थित आफ्नै निवासमा विहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । जनताको कठोर संघर्षबाट प्राप्त उपलब्धीको रुपमा रहेको संघीयता र गणतन्त्रलाई स्थापित गर्नु ठूलो चुनौती रहेको बताउँदै उनले भने ‘संघीयता र गणतन्त्र विफल पार्ने षडयन्त्र शुरु भईसकेको छ, यो षडयन्त्रमा पुरानो दरवारका ज्ञानेन्द्र, एमाले, जनमोर्चा र माले जस्ता पुरानो कम्युनिष्टहरु लागेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कट्टर मधेश विरोधीको रुपमा उभिएको भन्दै अनावश्क अभिव्यक्तिहरु दिएर जनतालाई लडाउने काम गरिरहेको नेता मण्डलले आरोप लगाए । ‘केपी ओली समस्या समाधानको बाटो खोज्नुभन्दा पनि उल्टै भनिरहेका छन् कि हाम्रा पुर्खाले हामीलाई लड्न सिकाएको छ’ वरिष्ठ राजनीतिज्ञ मण्डलले भने ‘ओली कोसँग लड्छ ? ब्रिटिश छैन, हिन्दुस्तान र चीनसँग लड्ने आँट छैन, उसले मधेशी जनतालाई धम्की दिईरहेको छ ।’
पूर्व राजा ज्ञानेन्द्र र ओलीको भाषा मिलिरहेको आरोप लगाउँदै उनले देश प्रतिगमनतर्फ गईरहेको शंकेत गरे । ‘पूर्व राजा ज्ञानेन्द्र, केपी ओली, सिपी मैनाली र चित्रबहादुर केसीको एउटै भाषा छ’ उनले अगाडि भने ‘उनीहरु देशमा समस्याको समाधान चाहिरहेको छैन, देश घनघोर संकटमा फँस्न गईरहेको छ ।
देशमा चरम गरिवी, युवा पलायन लगायतका समस्याहरुप्रति चिन्तित हुनुको साटो कथित राष्ट्रवादको नाममा जनतालाई भ्रमित पार्ने काम भईरहेको बताए । उनले भने ‘पृथ्वीनारायण शाह राष्ट्र निर्माता हो भनी अनावश्क चर्चा भईरहेको छ, १८औं शताब्दिको परिकल्पनाले देश चल्दैन ।’
संघीयता र गणतन्त्रलाई बचाउनुपर्नेमा जोड दिँदै उनले मधेशी, आदिवासी, जनजातीले अधिकार पाए देश बिखण्डन हुन्छ भन्नेहरुले जनतालाई भ्रमित पार्ने काम भईरहेको बताए । संघीयता र गणतन्त्रलाई समृद्ध बनाउन मधेशीलगायत पछाडि पारिएका समुदायको हक अधिकार सुनिश्चित हुनुपर्नेमा नेता मण्डलले जोड दिए ।
भिडियो